सिन्धुली÷ हरेक स्थानीय तहमा बैंकिङ सेवा नपुग्दा नागरिकहरुका साथै स्थानीय तहका कर्मचारीहरुले समेत सास्ती बोकेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्ष पुग्दा समेत गाउँगाउँमा बैंकिङ सेवाहरु पुग्न सकेका छैनन । जसका कारण विकासका लागि गठन भएका उपभोक्ता समिति, स्थानीय तहका लेखापाल तथा कार्यकारी अधिकृतहरुलाई आर्थिक कारोबार गर्न सदरमुकाम धाउनु परेको छ ।
जिल्लाका ९ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा अझै बैंकिङ सेवा सञ्चालन हुन सकेको छैन । साविक गाविसमामा झण्डै वीस लाख बार्षिक बजेट हुनेमा स्थानीय तह बनेपछि कम्तिमा पनि पच्चिस करोडभन्दा बढी बजेट आएको भए पनि बैंकको शाखा सञ्चालन हुन नसक्दा बजेटको भुक्तानी लिन उपभोक्ताहरु सदरमुकाम धाउन बाँध्य भएका छन् ।
एक लाखदेखि पचास लाखसम्मको विकास निर्माणको काम उपभोक्ता समिति गठन गरेर हुने गरेको भए पनि आर्थिक कारोबारमा भने समस्या भएको छ । बैंकिङ कारोवारमार्फत काम गर्न पाईने भए पछि सबै उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष सदरमुकाम सिन्धुलीमाढी आउन बाध्य भएका छन् ।
उपभोक्ता समितिसँगै भुक्तानी दिनको लागि कार्यकारी अधिकृत, लेखापाल र प्राविधिक पनि सदरमुकाम धाउन बाध्य छन । त्यस्तै स्थानीय तहलाई कर्मचारीलाई तलब खुवाउन समेत सदरमुकाममा आउनु बाध्यता भएको छ । पनि चाहिने भएकाले
अहिलेसम्म कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र दुधौली नगरपालिकामा मात्र बैंकिङ सेवा पुगेको छ । अन्य तिनपाटन, फिक्कल, घ्याङलेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा अझैसम्म बैंकिङ सेवा सुरु हुन सकेको छैन ।

























