सिन्धुली । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कमलामाईमा भक्तजनको सुविधालाई लक्षित गर्दै २२ धारा निर्माण गरिएको छ । उक्त धाराको निर्माण सम्पन्न भएसँगै औपचारिक रुपमा शनिबारदेखि सञ्चालनमा ल्याईएको छ ।
कमलामाई मन्दिर परिसरमा निर्माण गरिएको कलात्मक धाराको कृषि विकास बैंक लिमिटेड सिन्धुली शाखाका प्रबन्धक खेमराज काफ्लेले उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा काफ्लेले धार्मिकस्थलको विकाससँगै संरक्षणका लागि सरकारी तथा नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
कमलामाईको पूर्वाधार विकासमा सहयोग पु¥याउने उद्देश्यले कृषि विकास बैंकको सिन्धुली शाखाले धारा निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको थियो । शाखा प्रबन्धक काफ्लेले व्यक्तिगत रूपमा २१ हजार रुपैयाँ थप सहयोग गरेपछि कुल एक लाख २१ हजार रुपैयाँ लागतमा धारा निर्माण गरिएको थियो ।
मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई पूजाआजाअघि जलस्नान गर्न सहज बनाउने उद्देश्यले धारा निर्माण गरिएको कमलामाई नगरपालिका–८ का वडाध्यक्ष कोमल कुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार नयाँ संरचनाले भक्तजनको सुविधा बढाउनुका साथै मन्दिर परिसरको सौन्दर्य समेत बढाएको छ ।
कमलामाईमा सिन्धुली जिल्ला, तराईका जिल्लाहरु, अन्य जिल्लाहरु र भारतबाट समेत नियमित रूपमा श्रद्धालु आउने गरेका छन् । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिरमा नयाँ पूर्वाधार थपिएसँगै यहाँ आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिले धार्मिकस्थलको संरक्षणसँगै आवश्यक भौतिक पूर्वाधार र भक्तजनमैत्री संरचना निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ । स्थानीय तह, धार्मिक संस्था, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीचको सहकार्यलाई निरन्तरता दिन सके कमलामाईस्थानलाई थप व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अपेक्षा समेत समितिले व्यक्त गरेको छ ।






















