सिन्धुली । विपी राजमार्गमा रातीमा सवारी चलाउन नपाएपछि कुखुरा ओसार पसारमा समस्या भएको बताउँदै सिन्धुली उद्योग वाणिज्य संघले रातीको समयमा कुखुरा बोक्ने सवारी साधन सञ्चालन गर्न दिन माग गरेको छ ।
राजमार्गमा रातीको समयमा सवारी सञ्चालनमा रोक लगाउँदा कुखुरा ढुवानी गर्ने किसान तथा व्यवसायीले कुखुरा मरेर ठूलो क्षति व्यहोर्नु परेको भन्दै संघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई आवश्यक सहजीकरण गरिदिन माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, संघका पदाधिकारीहरु तथा कुखुरापालक किसानको टोलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापनपत्र बुझाउँदै कुखुरा जस्ता जीवित पशुपन्छी ढुवानी गर्ने सवारीलाई रातीको समयमा पनि सञ्चालन गर्न दिन माग गरेको हो ।
सिन्धुलीबाट काठमाडौं पठाइने बोइलर कुखुरा दिउँसो लोड गरेर दिउँसै पठाउँदा गर्मिले मर्ने गरेकाले व्यवसायी र किसानलाई मर्का परेको भन्दै राती ढुवानी गर्न माग गरिएको उद्योग वाणिज्य संघका सचिव गोविन्द खड्काले बताए ।
उनका अनुसार जिल्लाबाट दैनिक १० गाडी भन्दा बढी कुखुरा काठमान्डौ जाने गरेका छन् । ती गाडीहरुमा प्रतिगाडी ४ सय ३२ देखि ५ सय ४ वटासम्म कुखुरा ढुवानी हुने गरेका छन् । साँझ ६ बजेसम्म मंगलटार कटिसक्नुपर्ने बाध्यताका कारण दिउँसै कुखुरा लोड गर्नुपर्ने र गर्मिका कारण कुखुरा मर्न थालेपछि सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई ज्ञापनपत्र बुझाईएको उनले बताए ।
चर्को घाम, लामो जाम र निर्माणाधीन सडकका कारण गाडीमा रहेका कुखुरा मर्ने गरेको तथा त्यसबाट किसान र व्यवसायीलाई आर्थिक क्षति भइरहेको संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले व्यवसायी र किसानका मागसँग सकारात्मक रहेको बताईन् । उनले काभ्रेपलाञ्चोक प्रशासनसँग समन्वय गरि आवश्यक निर्णय गरिने बताएकी छिन् । साझा नेपाल साप्ताहिक





















