सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि रास्वपा नेता रोशन लामाले सार्वजनिक कार्यक्रममा दुव्र्यवहार गरेका छन् । बुधबार सिन्धुली उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्य आशिष गजुरेलसँग राखेको छलफल कार्यक्रमका लामाले उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि हातपातको प्रयास गरेको उद्योग वाणिज्य संघले जनाएको छ ।
लामाले गरेको दुव्र्यवहार विरुद्ध संघले विरोध विज्ञप्तीमार्फत आपत्ति जनाएको हो । बुधबार जारी प्रेस विज्ञप्तिमा कमलामाई नगरपालिका–६, सिन्धुली निवासी लामाले संघका अध्यक्ष श्रेष्ठले निराधार आरोप र व्यवसायीको मनोवल गिराउने अभिव्यक्ति नदिन अनुरोध गरेका थिए ।
विज्ञप्ति अनुसार लामालाई अध्यक्ष श्रेष्ठले सिन्धुली उद्योग वाणिज्य संघको भवन भत्किने र त्यस स्थानबाट व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई समेत त्यहाँ बस्न नदिन अभिव्यक्ति नदिन र आफु विरुद्ध पैसा खाएको जस्ता निराधार आरोप नलगाउन कुनै प्रमाणबिनै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका थिए ।
संघले बिना प्रमाण व्यक्तिमाथि गम्भीर आरोप लगाउनु र सार्वजनिक कार्यक्रममा दुव्र्यवहार गर्नु अनुचित भएको भन्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्ने जनाएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघले अध्यक्ष श्रेष्ठमाथि गरिएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा संस्थाको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ । विज्ञप्तिमा महासचिव वासु प्रसाद भेटुवाल र वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।






















