सिन्धुली । जिल्लामा स्क्रव टाईफसका विरामी अत्यधिक बढेका छन् । दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा यस्ता विरामी अत्यधिक बढी भेटिएका छन् भने अन्य पालिकामा समेत स्क्रव टाईफसका बिरामी देखिएका छन् ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार असार महिनामा २ जना मात्र स्क्रव टाईफसका विरामी भेटिएकोमा साउन महिनामा जिल्लामा ८५ जना विरामी भेटिएका हुन् । गत वर्षको भदौमा जम्मा पाँच जना विरामी फेला परेका थिए ।
दुधौली नगरपालिकामा ५५ जना, कमलामाई नगरपालिकामा १९ जना, तिनपाटन गाउँपालिकामा २, हरिहरपुरगढी गाउँपालिकामा २, मरिण गाउँपालिकामा १, गोलञ्जोर गाउँपालिकामा ५ जना स्क्रव टाईफसका विरामी भेटिएका छन् । यो महिनामा विगत तिनवर्षको अवधिको मासिक प्रवृति हेर्दा सबैभन्दा बढी देखिएको कार्यालय प्रमुख बिमल पटेलले बताएका छन् ।
पटेलले दुधौली नगरपालिका ५, ६ र १० नम्बर वडामा अत्यधिक विरामी देखिएको बताएका छन् । तीनवटा वडामा मात्रै २७ जना विरामी भेटिएका छन् । साउनदेखि कार्तिकसम्म स्क्रव टाईफसका विरामी बढ्ने समय भएकाले सचेतता अपनाउने, जाँचलाई बढाउने र आवश्यकता परे सचेतना कार्यक्रम समेत गर्ने तयारी भईरहेको उनले बताए ।
दुधौली नगर अस्पताल र सिन्धुली अस्पतालमा यस्ता विरामीले बढी उपचार गराईरहेको पनि पटेलले बताए । स्क्रव टाईफसका विरामीको उपचार चेकजाँच भएकै स्वास्थ्य संस्थामा भईरहेको र उच्च जोखिममा कोहि पनि नरहेको पटेलले जानकारी दिए ।
खेतबारीमा काम गर्दा, झाडीमा जाँदा, सरसफाई नहुँदा मुसा वा अन्य साना जनावरमा पाईने माइट जातको किर्नाको लार्भा (चिगर) मानिसमा सरेर टोक्दा स्क्रव टाईफस लाग्ने उनले बताए । यो रोग मानिसबाट मानिसमा नसर्ने भएकाले महामारीको रुप लिन भने नसक्ने उनले बताए ।






















