सिन्धुली । कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई जात्रा तथा विविध सांस्कृतिक झाँकी सहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको उक्त कार्यक्रमबाट संकलन भएको दान तथा सहयोग रकम रसुवा बाढीपीडितको राहतका लागि प्रदान गरिने भएको छ ।
नेवाः देय दवुु कमलामाई नगर समिति सिन्धुलीको आयोजनामा सम्पन्न लाखे नाच तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीको २ नम्बर बजारस्थित भीमसेन मन्दिरबाट सुरु भएको थियो । जात्रा गैह्रीबजार, १ नम्बर बजार, स्टल, बसपार्क र धुराबजार हुँदै कमलामाई नगरपालिका–४ ढुंग्रेवासस्थित कृष्ण मन्दिरमा पुगेर समापन भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेवार समुदायका परम्परागत लाखे नृत्य, रोपाई जात्रा, धिमे नाच तथा विभिन्न मौलिक सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । वर्षौंदेखि चलि आएको यस ऐतिहासिक परम्पराले नेवार कला, संस्कृति र सामुदायिक एकताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
नेवाः दवु देय सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठले लाखे नाच तथा सांस्कृतिक कार्यक्रमबाट संकलित सम्पूर्ण दान तथा सहयोग रकम रसुवा बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिने जानकारी दिएका छन् । उनले संस्कृति संरक्षणसँगै मानवीय सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन् । रातीसम्म कार्यक्रम भएकाले कति रकम संकलन भयो त्यसको गणना नभईसकेको बताए ।
सहयोग जुट्ने क्रम पनि जारी रहेकाले रकमको एकीन भएपछि शनिबार नै जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने श्रेष्ठले बताएका छन् ।
























