सिन्धुली । सोमबार जिल्लाका ठूला खाद्य सप्लायर्समा प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा प्रशासनले छापा मारेको छ । सोमबार दिनभर प्रशासनले जिल्लाका ठूला खाद्य सप्लायर्समा आकस्मिक अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा दुई वटा टिम बनाएर दिनभर खाद्य स्टोर्सहरुको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको नेतृत्वमा कमला सप्लायर्स कमलामाई ४ ढुंग्रेवासका चालिस वटा गोदामको अनुगमन गरिएको छ । उक्त सप्लायर्सबाट म्याद नाघेका, लेवल नलगाएका ठूलो परिणामका खाद्य सामग्री बरामद गरिएको छ । उक्त सप्लायर्सबाट सेतो तिल ८ बोरा, कालो तिल १७ बोरा, चामल ५७ बोरा, तेल ३४ थान, बदाम जुस ६ थान बरामद गरिएको छ ।
उक्त गोदामबाट २ लाख ८७ हजार बराबरको म्याद नाघेको खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताएका छन् । उनका अनुसार उक्त सप्लायर्सका प्रोपाईटर जय कुमार दासलाई तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हाजिर हुन निर्देशन गरिएको छ । विगतका वर्षहरुमा समेत अखाद्य वस्तु विक्री वितरण गरेको भनि विवादमा तानिदै आएका दासलाई कागजपत्र सहित प्रशासनमा हाजिर हुन भनिएको पौडेलले बताएका छन् । उनका अनुसार कारवाहिको दायरा ठूलो हुने देखिएकाले कार्यालयमा नै बोलाईएको हो ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले अजिद सप्लायर्स रातामाटा र प्रयास स्टोर्स रातामाटालाई २५/२५ हजार जरिवाना गरेको छ । उनीहरुको स्टोर्सबाट पनि म्याद नाघेका सामग्रीहरु बरामद गरिएको पौडेलले जानकारी दिएका छन् । यस्तै वर्गर हाउसमा समेत अनुगमन गरिएको छ । वर्गर हाउसलाई सुधारका लागि सुझाव दिईएको पनि उनले बताए ।
अनुगमनका क्रममा बरामद गरिएका म्याद नाघेका खाद्य सामग्रीलाई कमलामाई नगरपालिकाको डम्पिङ साईडमा लगि नष्ट गरिएको पनि पौडेलले जानकारी दिएका छन् ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहको नेतृत्वको प्रहरी, सशस्त्र प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुली, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, उपभोक्ता हित संरक्षणकर्मीहरु सहितको सहभागिता रहेको थियो ।





















