सिन्धुली । निर्वाचन प्रक्रियामा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिका र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभामा खसेपछि भएको विवादका कारण रोकिएको सिन्धुलीको मतगणना अब सुरु हुने भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. २ को मरिणमा रहेको पञ्चकन्या आवासिय मावि चिसापानी केन्द्रमा कर्मचारीले संघ र प्रदेशका बाकसमा फरक फरक मत परेपछि सर्वदलिय वैठकमा छलफल भएको थियो ।
सर्वदलिय वैठक सकिएसँगै मतगणना सुरु गर्न थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
सर्वदलिय वैठकमा सम्बन्धित मतपेटिकामा खसेको मतलाई सदर गर्ने सहमति भएसँगै मतगणना सुरु हुने भएको हो ।
उक्त केन्द्रमा प्रदेशसभातर्फको १० मत प्रतिनिधिसभाको बाकसमा खसेको र प्रतिनिधिसभातर्फको ४० मत प्रदेशसभाको मतपेटिकामा खसेको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं. २ र प्रदेशसभा २(१), प्रदेशसभा २(२) को एकैसाथ मतगणना सुरु गर्न थालिएको सहायक निर्वाचन अधिकृत भरत दाहालले जानकारी दिएका छन । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(१), प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(२) दुवैको मतगणना गर्ने तयारी भएको छ ।























