सिन्धुली । जिल्लामा लागु औषध ओसारपसार तथा प्रयोगका मुद्दाहरुमा तिव्र वृद्धि भएका छन् । पछिल्ला तीन वर्षमा १६४ प्रतिशतले लागु औषधका मुद्दा बढेको प्रहरीको तथ्यांक छ । जिल्लामा लागु औषध सम्बन्धी घटना तथा ओसारपसारका अपराधहरू वर्षैपिच्छे तीव्र रूपमा बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २५ वटा मात्र लागु औषधका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ८४ प्रतिशतले बढेर ४६ वटा पुगेको थियो । यस्तै आर्थिक वर्ष २०८२/०८३ मा थप ४३.४८ प्रतिशतले वृद्धि भई लागु औषध सम्बन्धी मुद्दाको संख्या ६६ पुगेको छ ।
तीन वर्षको तथ्यांक विश्लेषण गर्दा आ.व. २०८२/०८३ सम्म आईपुग्दा १६४ प्रतिशत तथ्यांकमा वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ६६ वटा मुद्दाका १०७ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहि अगाडि बढाएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले ८११ दशमलब १४ ग्राम खैरो हेरोइन, ११ किलो ८६२ ग्राम गाँजा, १ हजार ४६२ पिस ट्यावलेट, १०० एम्पुल, ७३ बोतल अनेरेक्स सिरप बरामद समेत गरेको छ ।
बरामद परिणाममा महँगो र घातक मानिने ८११ ग्रामभन्दा बढी खैरो हेरोइन तथा १४ सयभन्दा बढी ट्याब्लेट भेटिनुले जिल्लामा संगठित रूपमा लागु औषधको सञ्जाल फैलिएको प्रहरीको भनाई छ ।
बरामद गरिएका लागु औषधको परिणाम र प्रकारले सिन्धुली जिल्ला लागु औषधको प्रयोगकर्ता मात्र नभई प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ (ओसारपसारको मार्ग) का रूपमा प्रयोग भइरहेको देखिएको छ । विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग हुँदै लागु औषधको कारोवार तथा ओसारपसार भईरहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मुद्दा र पक्राउ पर्नेको संख्या बढ्नुमा एकातिर लागु औषधको अवैध कारोबारमा वृद्धि हुनु र अर्कोतिर प्रहरीको निगरानी तथा सक्रियता बढ्नु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार लागु औषधका मुद्दामा किशोर किशोरी तथा युवाहरु फस्दै आएको प्रहरीले जनाएको छ । अधिकांश व्यक्तिहरु १७, १८ वर्षदेखि ३० वर्षका व्यक्तिहरु संलग्न रहेको पाईएको छ ।






















