सिन्धुली । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण फिक्कल गाउँपालिकामा ३ सय ६ घर परिवार प्रभावित भएका छन ।
पहिरोका कारण फिक्कल गाउँपालिकाको वडा नं. ३ पोखरीमा ६० घर, वडा नं. २ खोलागाउँमा २९ घर, वडा नं. ४ खाङ्साङमा ६२ घर, वडा नं. ५ स्वल्पामा ७५ घर, वडा नं. ६ रत्नावतीमा ७९ र वडा नं. १ महादेवडाँडामा १ घर गरि ३ सय ६ घरपरिवार पहिरोबाट प्रभावित भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।
उनका अनुसार फिक्कल गाउँपालिकाका सुम्नाम, निगुरेखोला, साम्ने, तर्किनीबेशी, खाङसाङ, झगरेवेशी, नारिमखोला, तिनखण्डे, सल्लासोखु, कालिआँप, पञ्चकन्या लगाएतका ठाउँमा सुनकोशीको बाढीले अत्यधिक कटान गरेको छ । किसानले लगाएको ६ सय ४६ रोपनीमा लगाएको धानबालीमा क्षति गरेको छ । १ सय २० रोपनी खेतियोग्य जमिन कटान गरेको छ भने ५ सय २६ रोपनी जमिन पुरिएको छ ।
कृषि तथा पशु पंक्षिका ५ वटा फार्म सुनकोशीको बाढीले बगायो भने ७ वटा फलफुल बगैचा बगाएको छ । बाढी र पहिरोका कारण फिक्कल गाउँपालिकाका ५० वटा विद्युतका पोल बाढीले बगाएपछि ११ गतेदेखि फिक्कल गाउँपालिका अध्याँरोमा छ । विद्युत अवरुद्ध भएपछि सञ्चारसम्मेत विच्छेद भएको बरालले बताए ।
बगाएका पोलमध्ये गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको पहल र सक्रियतामा २६ वटा पोल गाडिसकिएको पनि उनले बताए । विद्युत अवरुद्ध हुँदा ८ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य भएको उनले बताए ।
यस्तै सुनकोशीको बाढीले फिक्कलका ५ वटा झोलुंगेपुलमा क्षति गरेको छ । जसका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिकासँग सिधा सम्पर्क टुटेको छ । फिक्कल गाउँपालिका भित्र सुनकोशीबाट लिफ्ट गरि खानेपानी तान्ने १५ वटा मोटर पनि बाढीले बगाएको छ । जसका कारण खानेपानी आपूर्तिमा कठिनाई भईरहेको छ । सडक, विद्युत, सिचाइ, बिधालय , सार्बजनिक सम्पत्ति भबन लगाएत धेरै क्षती भएको छ ।
तर्केनीबेशी, नारीमखोला, तिनखण्डे र माझीगाउँ (पात्ले) का ११, १२ घर परिवार विस्थापनको अवस्थामा पुगेका छन । सुनकोशीको कटानमा परेपछि ति वस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उपाध्यक्ष बरालले बताएका छन । सुनकोशीको कटानबाट विस्थापनमा परेकाहरु अहिले आफन्त तथा छिमेकी टोलमा पुगेर आश्रय लिएका छन । सुनकोशीले कालीआँप, वाक्सुखोला लगाएतका ठाउँमा मध्यपहाडी राजमार्ग कटान गरि ठूलो क्षति पु¥याएको र डाईभर्सन बनाएर सडक सञ्चालनमा ल्याईएको बरालले बताए ।






















