सिन्धुली । पञ्चायत विरुद्धको आन्दोलनका अभिमन्यु शहीद ऋषिराज देवकोटा (आजाद) को ४० औं स्मृति सभा भिमानमा रहेको आजाद स्मृति भवनमा मनाईएको छ । सोहि स्थानको आजादको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेकपा सिन्धुली ओली पक्षको आयोजनामा भएको कार्यक्रममा शहीद परिवारको समेत सहभागिता रहेको थियो ।
पञ्चायत विरुद्ध लड्दा तत्कालिन प्रशासनबाट मारिएका आजादकी पत्नी एवम् नेकपाकी केन्द्रीय सदस्य गोमा देवकोटा, नेकपाका केन्द्रीय सदस्य एवम् देवकोटाका पुत्र सुवास देवकोटा लगाएत देवकोटा परिवार, उनका साथिहरु लगाएत स्थानीयबासी, जिल्ला तथा केन्द्रीय नेतृत्व सहित आजादको स्मृति गरिरहदा शहीद पत्नी देवकोटाले परिवारले चालिस वर्ष अघि आजादको रगत मुठ्ठीमा लिएर परिवारले गरेको संकल्प हालसम्म पुरा नभएको बताईन ।
नेकपा विभाजनको संघारमा रहेको र आफ्ना पतिको स्मरण फुटकै कारण एकै ठाउँमा दुई वटा पार्टीले गरेको प्रति उनी दुखी देखिन्थिन । उनले आजादले कम्युनिष्ट पार्टी एकता, स्थिर राजनीतिको परिकल्पना गरेको स्मरण गरिन ।
ऋद्धाञ्जली व्यक्त गर्दै उनले भनिन, परिवार र तत्कालिन कम्युनिष्ट पार्टीले रगत मुठ्ठिमा लिएर गरेको संकल्प परिवार र देशले हण्डर भोग्दै चालिस वर्ष पार गर्दा समेत पुरा नभएको बताईन । उनले ऋषिराज देवकोटा, दुर्गा सुवेदी, दलबहादुर रजन मगर लगाएत सहिदले रगत बगाएको तर सपना पुरा हुन नसकेको भन्दै कम्युनिष्ट पार्टी एक हुन आह्वान समेत गरेकी छिन ।
‘सहिदको रगत मुठ्ठीमा लिएर परिवारले गरेको संकल्प पुरा हुन सकेन, सहिदको सपना पुरा गर्न निरन्तर गरिव निमुखाको लागि सर्वहारा वर्गका लागि काम गर्नुपर्नेमा त्यसो हुन सकेन ।’ उनले भनिन ।
उनले नेकपाका माधव प्रचण्ड समूहलाई लक्षित गर्दै भनिन, ‘बहुमतको सरकार छ तर दुर्भाग्य सरकारलाई काम गर्न दिईएन । प्रधानमन्त्रीलाई बाधा र अवरोध गरियो र विकासका काममा बाधा हालियो ।’
उनले थपिन, ‘संसद विघटन गर्न बाध्य हुनुप¥यो ।’ उनले सर्वोच्चले संसद पुनस्र्थापना गरेकोमा आफुहरुलाई कुनै पर्वाह नभएको बताईन । उनले भनिन, राजनीतिमा धेरै विकृति, समस्याहरु छन, यसलाई चिर्न जनताको बीचमा आदेश माग्नु नै विकल्प हो ।’
उनले वर्तमान सरकारले आजादको सपना पुरा गर्न विकासका कामहरु तिव्र गतिमा गरेको र राष्ट्रियताका सवालमा उल्लेख्य काम गरेको स्मरण गरेकी छिन । यसलाई रोक्न पार्टी भित्रैबाट षडयन्त्र भएकोमा दुःख लागेको पनि उनले बताएकी छिन ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकासका काम, लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई नक्सामा प्रकाशन गर्नु लगाएतका कामको स्मरण गर्दै सरकारले केहि गरेको छैन भनेर चोइटिएर गएका नेताहरुले आरोप लगाउनु गलत भएको बताईन । उनले केपी ओलीले मात्र शहीदको सपना पुरा गर्ने र विकासलाई तिव्र रुपमा अगाडि बढाउन सक्ने दावी समेत गरिन । नेकपा माधव प्रचण्ड समूहले भिमान बजारमा बुधबार नै आजातको स्मृति सभा गरेको छ । आजाद परिवार भने ओली पक्षीय नेकपामा रहेका छन ।





















