सनातन हिन्दू संस्कृतिमा हरितालिका तीजको दुई दिनपछि अर्थात भाद्र शुक्ल पञ्चमीका दिन हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुले मनाउने पर्व हो ऋषि पञ्चमी । ऋषि पञ्चमी आत्मशुद्धि, प्रकृतिप्रति सम्मान र ऋषि परम्पराप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण पर्व हो । विशेषगरी महिलाहरुले व्रत बस्ने दिनका रूपमा परिचित भए पनि यसको मूल सन्देश केवल महिलासँग सीमित छैन । यो पर्वले मानव जीवनलाई ज्ञान, अनुशासन, पवित्रता र प्रकृतिसँगको सहअस्तित्वको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ । आजको समाजले ऋषि पञ्चमीलाई अन्धविश्वास र कठोर सामाजिक परम्पराको चस्माबाट पनि हेर्ने गरेको पाईन्छ तर त्यसो नभई यसको सकारात्मक आध्यात्मिक तथा सांस्कृतिक मूल्यको आधारमा बुझ्नु आवश्यक भएको छ ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी सप्तऋषिहरु कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको स्मरणमा समर्पित छ । धार्मिक ग्रन्थहरूमा यी ऋषिहरूलाई ज्ञान, तपस्या, नैतिकता र सभ्यताको मार्ग दर्शकका रुपमा मानिएको छ । यी चार कुरा हरेक मानिसको जीवनमा उत्तिकै महत्वपूर्ण छन् । त्यसैले यस दिन उनीहरूको पूजा गरी ज्ञान र सदाचारको जीवन अपनाउने संकल्प गरिन्छ ।
परम्परागत रूपमा महिलाले तीजको व्रतपछि नदी, पोखरी वा स्वच्छ जलस्रोतमा स्नान गरी दतिवन र विशेष वनस्पतिको प्रयोगबाट शुद्धीकरण गर्ने चलन छ । जुन आयुर्वेदसँग सम्बन्धित छ । यसले शरीर मात्र होइन, मन र व्यवहारलाई पनि पवित्र बनाउने प्रतीकका रुपमा ऋषि पञ्चमीलाई लिएको पाईन्छ । शास्त्रीय कथामा रजस्वला अवधिमा भएका अज्ञानवश त्रुटिको प्रायश्चित्त गर्ने प्रसंग पाइए पनि यसको गहिरो अर्थ आत्मअनुशासन र आत्म समीक्षा हो । भलै रजस्वलाको त्रुटिको प्रयाश्चितका रुपमा यो पर्वलाई बुझाउने र बुझिने गरेकाले पञ्चमी पूजा विवादित बन्दै आएको छ ।
ऋषि पञ्चमीले हाम्रो समाजलाई तीनवटा महत्वपूर्ण शिक्षा दिन्छ । पहिलो, ज्ञानप्रतिको सम्मान । ऋषिहरू कुनै जाति वा लिङ्गका प्रतिनिधि मात्र होइनन्; उनीहरू ज्ञान, अनुसन्धान र सत्यको खोजीका प्रतीक हुन् । त्यसैले यो पर्वले पुस्तौँदेखि ज्ञान परम्परालाई जीवित राख्ने सन्देश दिन्छ ।
दोस्रो, प्रकृतिसँगको सम्बन्ध हो । पूजा सामग्रीमा कुश, तुलसी, दतिवन, जल र विभिन्न वनस्पतिको प्रयोग गरिनु प्रकृतिलाई जीवनको आधार मान्ने वैदिक दृष्टिकोण हो । आधुनिक वातावरणीय संकटका बेला यो सन्देश अझ सान्दर्भिक बनेको छ । तर नुहाउँदा माटोको प्रयोगलाई भने निश्तेज गर्न सकिन्छ । जसले यौनांगमा संक्रमण गराउन सक्ने खतरा छ । यस्ता कुराहरु भने परिवर्तन हुन जरुरी छ ।
तेस्रो, पारिवारिक र सामाजिक एकता । तीज र ऋषि पञ्चमीले परिवारका सदस्यलाई एउटै सांस्कृतिक धागोमा बाँध्ने अवसर दिन्छ । सामूहिक पूजा, भेटघाट र शुभकामनाले सामाजिक सम्बन्धलाई मजबुत बनाउँछ ।
आधुनिक समाजका प्रश्न
समयसँगै ऋषि पञ्चमीबारे धेरै प्रश्न उठेका छन् । विशेषगरी महिलामाथि मात्र शुद्ध–अशुद्धको अवधारणा किन लागू गरियो भन्ने बहस स्वाभाविक छ । विज्ञानले रजस्वला जैविक र प्राकृतिक प्रक्रिया भएको स्पष्ट गरि सकेको छ । त्यसैले महिलालाई अपवित्र मान्ने वा उनीहरूको सम्मानमा आँच आउने कुनै पनि अभ्यासलाई धर्मको नाममा उचित ठहराउन सकिँदैन ।
धर्मको सार मानव कल्याण हो, विभेद होइन । यदि कुनै परम्पराले मानिसको आत्मसम्मान घटाउँछ भने त्यसलाई पुनव्र्याख्या गर्नु समाजको दायित्व हो । आधुनिकताको अर्थ धर्म त्याग्नु होइन; धर्मभित्र रहेका मानवीय मूल्यलाई समय अनुकूल बुझ्नु पनि हो ।
आज धेरै शिक्षित महिलाले ऋषि पञ्चमीको व्रत श्रद्धाका साथ बस्छन्, तर त्यसलाई अपराधबोध वा डरको कारण होइन, आत्मिक शान्ति र सांस्कृतिक पहिचानको रूपमा ग्रहण गर्नु आवश्यक छ । सामाजिक, सांस्कृतिक र धार्मिक चेतनाको परिवर्तनबाट सम्भव छ ।
आधुनिकता र परम्पराको सन्तुलन
आजको पुस्ताले दुई चरम अवस्थाबाट बच्नुपर्छ । एकातिर सबै परम्परालाई अन्धविश्वास भन्दै अस्वीकार गर्ने प्रवृत्तिबाट जोगिने र अर्कातिर हरेक पुरानो अभ्यासलाई परिवर्तन गर्न नहुने जिद्दीबाट पनि जोगिने । यी दुवै दृष्टिकोण सन्तुलित होइनन् ।
हामीले पर्वलाई परिवर्तन गर्ने होइन, पर्व मनाउने हाम्रो चेतनालाई परिवर्तन गर्नुपर्छ । समय अनुसार आधुनिकता स्वीकार गर्न र मौलिकता जोगाउन नयाँ पुस्तामाथि चुनौती छ । मौलिकता र परम्परा जोगाउने दायित्वसँगै अस्वभाविक विकृतिलाई हटाउन समेत आजको शिक्षित पुस्ताले सोंच्नु आवश्यक छ ।
ऋषि पञ्चमीको वास्तविक मर्म पनि मौलिकता, परम्परा जोगाउँदै विकृतिहरुलाई परिमार्जन गर्नु पनि हो । बाहिरी प्रदर्शनभन्दा भित्री शुद्धता आजको आवश्यकता पनि हो । हामीले नैतिकता, अनुशासन र स्वनियमनलाई ध्यान दिंदै प्रकृतिको पूजक बन्न आवश्यक बन्दै गएको छ ।
जस्तो ऋषि पञ्चमीलाई वातावरण संरक्षणसँग जोड्न सकिन्छ । नदीमा फोहोर फाल्ने, प्लास्टिकका पूजा सामग्री प्रयोग गर्ने वा धार्मिक स्थललाई प्रदूषित गर्ने कार्यले धर्मको उद्देश्य पूरा गर्दैन । बरु एक बिरुवा रोप्ने, जलस्रोत सफा गर्ने, औषधीय वनस्पति संरक्षण गर्ने र स्वच्छताको अभियान चलाउने हो भने पर्वको आध्यात्मिक मूल्य व्यवहारमा उतारिएको ठहरिन्छ । ऋषि पञ्चमीले जलासयमा पुगेर नुहाउने र सफा, शुद्ध हुने कुराले प्रकृति संरक्षणको आवश्यकता औंलाएको छ भलै बुझाईमा केहि तादम्यता नमिलेको हुन सक्छ ।
त्यस्तै, समाजमा रहेका विभेद, हिंसा र असमानताबाट मुक्त हुने संकल्प पनि आजको ऋषि पञ्चमीको महत्वपूर्ण पक्ष बन्न सक्छ । ऋषिहरूले ज्ञान र न्यायको मार्ग देखाएका थिए । त्यसैले उनीहरूको स्मरण केवल पूजा गरेर होइन, सत्य, समानता र करुणाको अभ्यास गरेर सार्थक हुन्छ ।
नयाँ पुस्ताले कसरी बुझ्ने ?
आजको पुस्ताले उठाएको “मेरो शरीर, मेरो अधिकार” भन्ने आवाज कुनै धर्मविरोधी आन्दोलन होइन । यो महिलाको शरीर, स्वास्थ्य, सम्मान र निर्णय गर्ने स्वतन्त्रताको पक्षमा उठेको मानव अधिकारको प्रश्न हो । त्यसैले ऋषि पञ्चमीलाई रजस्वलामा हुने छुवाछुत र पापको भयसँग होइन, आत्मचिन्तन र संस्कृतिको सकारात्मक मूल्यसँग जोडेर पुनः बुझ्नु आवश्यक छ ।
नेपालको संविधानले सबै नागरिकलाई समानता र सम्मानपूर्वक बाँच्ने अधिकार दिएको छ । मुलुकी अपराध संहिता, २०७४ ले रजस्वलाका आधारमा गरिने छाउपडी वा अछुत व्यवहारलाई दण्डनीय बनाएको छ । अर्थात् कानुनको दृष्टिमा रजस्वला भएकी महिला अपवित्र वा अछुत होइनन् । यसको अर्थ रजस्वला एक प्राकृतिक जैविक प्रक्रिया हो, पाप होइन । तर धार्मिक कथाहरूमा ऋषि पञ्चमीलाई रजस्वलाको “दोष” वा “प्रायश्चित्त” सँग जोडिएको पाइन्छ । यही ठाउँमा नयाँ पुस्ताले प्रश्न गर्छ, ‘यदि रजस्वला प्राकृतिक हो भने प्रायश्चित्त किन ?’ यसको उत्तर शाब्दिक होइन, सांस्कृतिक र ऐतिहासिक सन्दर्भमा खोज्नुपर्छ । प्राचीन समाजमा सरसफाइ, स्वास्थ्य र जैविक प्रक्रियाबारे सीमित ज्ञान थियो । त्यस समय बनेका धेरै प्रतीकात्मक अभ्यासलाई आज विज्ञान र मानव अधिकारको दृष्टिले पुनव्र्याख्या गर्नुपर्छ, त्यसैले अहिले उठेका आवाज र बनेका कानुनी दस्तावेज चेतनाको स्तरसँगै भएको विकास हो र स्वभाविक छ ।
ऋषि पञ्चमीको सार महिलालाई दोषी ठहराउनु होइन; आत्मशुद्धि, अनुशासन र ज्ञानको सम्मान हो । यदि कसैले श्रद्धापूर्वक व्रत बस्न चाहन्छ भने त्यो उसको धार्मिक स्वतन्त्रता हो । यदि कसैले व्रत नबस्ने निर्णय गर्छ भने त्यो पनि उसको व्यक्तिगत अधिकार हो । धर्म तबसम्म सुन्दर हुन्छ, जबसम्म त्यो स्वेच्छामा आधारित हुन्छ; डर, लाञ्छना वा सामाजिक दबाबमा होइन ।
रजस्वलालाई लुकाउने होइन, सम्मान गर्ने हो । छुवाछुत होइन, समानता अपनाउने हो । महिलालाई पापको प्रतीक होइन, जीवन सिर्जनाको आधार मान्ने हो । ऋषिहरूले ज्ञानको मार्ग देखाएका थिए भने आजको ज्ञानले हामीलाई विज्ञान, समानता र मानव मर्यादाको बाटो देखाउँछ । यी दुईबीच द्वन्द्व होइन, संवाद हुनुपर्छ । अवको पुस्ताले विभेद बिना परम्परा जोगाउन सक्छ । महिलाहरुको सम्मान गर्दै संस्कृति बचाउन पनि सक्छ भन्ने सोंच सहित ऋषि पञ्चमीलाई मनाउन र अझ अर्थपूर्ण मानवीय, पर्व बनाउन सक्छ ।
निष्कर्ष
ऋषि पञ्चमी केवल धार्मिक अनुष्ठान होइन, आत्मचिन्तन र सांस्कृतिक चेतनाको पर्व हो । यसको मूल सन्देश ज्ञानको सम्मान, प्रकृतिप्रति कृतज्ञता, आत्मअनुशासन र नैतिक जीवन हो । आधुनिक युगमा यसको व्याख्या विज्ञान, समानता र मानव मर्यादासँग मेल खाने गरी गरिनुपर्छ ।
हामीले परम्परालाई जीवित राख्ने हो भने त्यसको आत्मा जोगाउनुपर्छ, बाहिरी आवरण होइन । धर्मले मानिसलाई विभाजन होइन, उन्नति र सहअस्तित्व सिकाउनुपर्छ । ऋषि पञ्चमीलाई आज पनि अर्थपूर्ण, जीवन्त र आगामी पुस्ताका लागि प्रेरणादायी पर्व बनाइराख्न समय अनुकुलको व्याख्या आवश्यक छ ।






















