सिन्धुली । जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन् ।
जिल्लाका ३९ वटा सामुदायिक वन समूहले आर्थिक संकलन गरि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघमार्फत ९ लाख २९ हजार ३ सय ५६ सहयोग गरेका हुन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समक्ष उक्त रकम हस्तान्तरण गरिएको हो । डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारीको उपस्थितिमा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले उक्त रकम बरावरको भौचर हस्तान्तरण गरेका हुन् ।
गत भदौ १० गते आएको भिषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै विपद् प्रभावितहरूलाई राहत पु¥याउने उद्देश्यले स्वेच्छिक रूपमा रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।
महासंघले राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरिएको बैंक भौचर सहित जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी पत्र पठाएको छ ।
डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिण कपिलाकोटमा दर्ता भई महासंघमा आवद्ध रहेका सामुदायिक वन उपभोक्ता समूहले उक्त रकम सहयोग गरेका हुन् ।
प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा सक्रिय रहँदै आएका सामुदायिक वनहरूले प्राकृतिक विपद्को घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग रकम हस्तान्तरण गरेको महासंघका अध्यक्ष श्रेष्ठले बताए ।
























