सिन्धुली । नेपाल सरकारले छापा माध्यमका लागि दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा ५० प्रतिशत कटौती गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ, सिन्धुली शाखाले जिल्ला हुलाक कार्यालय सिन्धुलीलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा र सचिव नविन बाबु अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत सरकारले ल्याएको ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ प्रति गम्भीर आपत्ति प्रकट गर्दै ज्ञापनपत्र बुझाईएको हो ।
देशमा विद्यमान आर्थिक मन्दी, कागज तथा मुद्रण सामग्रीको मूल्यवृद्धि र सञ्चालन खर्च बढिरहेको जटिल परिस्थितिमा लोककल्याणकारी विज्ञापनको रकम आधा घटाउँदा छापा माध्यमहरू थप संकटमा परेको भन्दै महासंघले सरकारले गरेको कार्यविधिमा संशोधन गरि रकम कटौती नगर्न माग गरेको छ ।
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित भइसकेको अवस्थामा कार्यविधि संशोधन गरी भुक्तानीमा प्रतिकूल प्रभाव पार्नु अव्यवहारिक र अन्यायपूर्ण रहेको ठहर गरेको छ ।
केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनको पहिलो चरण अन्तर्गत, समस्या समाधान नभएसम्म र संशोधित कार्यविधि फिर्ता नभएसम्म जिल्ला हुलाक कार्यालय सिन्धुलीमा लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न महासंघले ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।
जायज मागहरूको बेवास्ता गर्दै बिल बुझ्ने कार्य अघि बढाइएमा जिल्ला हुलाक कार्यालय सिन्धुलीमा तालाबन्दी लगायतका कडा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्न महासंघ बाध्य हुने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ । तालाबन्दीबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने महासंघले स्पष्ट पारेको छ ।
महासंघले ज्ञापनपत्रको बोदार्थ विज्ञापन बोर्ड, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई समेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले पत्रकार महासंघको मागलाई सबै सरोकारवाला निकायहरु समक्ष पुराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।




















