सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ८, बाहुनतिल्पुङमा रहेको बैङ्कटेश्वर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाजको प्रथम साधारणसभा तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
साधारणसभाले टोमप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा होमप्रसाद अधिकारी र देवका अधिकारी, सचिवमा गोपालप्रसाद पहाडी, सहसचिवमा बालकुमारी श्रेष्ठ र कोषाध्यक्षमा खेमहरी भण्डारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा तुलसीराम अधिकारी, वेदराज काफ्ले, कुशहरी भण्डारी, दिनानाथ दुलाल, विकास अधिकारी, भोजराज सापकोटा, शर्मिला काफ्ले, गीता लुंगेली र देवीकुमारी गौतम चयन भएका छन् ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष टोमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पुराना स्मृति साटासाट गर्नुका साथै संस्थाको भावी कार्यदिशा, अक्षयकोष सञ्चालन, विद्यालयको पूर्वाधार विकास र शैक्षिक उन्नयनका विषयमा छलफल गरिएको थियो । साधारणसभाले संस्थाको विधान संशोधन, अवधारणापत्र, भावी मार्गचित्र, अक्षयकोष सञ्चालन नियमावली तथा संस्थाको आधिकारिक लोगो र छाप सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष काफ्लेले संस्थाको विधान संशोधन, अवधारणापत्र तथा भावी मार्गचित्र प्रस्तुत गरेका थिए । साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिव गोपालप्रसाद पहाडीको संगठनात्मक प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रमका अवसरमा विद्यालयको भौतिक पूर्वाधार सुधारमा सहयोग पु¥याउने उद्देश्यले तुलसीराम अधिकारी (काठमाडौँ) तथा देवीप्रसाद–यसोदा काफ्ले शैक्षिक प्रतिष्ठानको संयुक्त प्रायोजनमा प्राप्त ५० थान कुर्सी विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको थियो । साथै संस्थाका आजीवन तथा विशिष्ट सदस्य, दाता र योगदानकर्तालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तीनपाटन गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद गौतमले पूर्वविद्यार्थीहरूको सङ्गठित प्रयासले स्थानीय शैक्षिक विकासमा नयाँ आशा जगाएको बताए ।
त्यसैगरी त्रिपुरेश्वर शिक्षा क्याम्पसका क्याम्पस प्रमुख प्रेमबहादुर पौडेल तथा पूर्ववडाध्यक्ष रेखाराज अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै स्थानीय उच्च शिक्षाको विकासमा समेत पूर्वविद्यार्थीहरूले योगदान दिनुपर्ने बताए । स्थानीय शैक्षिक संस्थाहरूको स्तरोन्नतिका लागि सहकार्य र साझेदारी आवश्यक रहेको उनीहरुले बताएका छन् ।
प्रथम साधारणसभा तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाहुनतिल्पुङ स्वास्थ्य चौकी प्रमुख इन्द्रबहादुर दुलाल, शिक्षक–अभिभावक सङ्घका पदाधिकारी तथा सदस्य, वर्तमान तथा पूर्वशिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष होमप्रसाद अधिकारीले व्यक्त गरेका थिए भने सञ्चालन सचिव गोपालप्रसाद पहाडी र सहसचिव उमेश अधिकारीले गरेका थिए ।
पूर्वविद्यार्थीहरूलाई एउटै संस्थागत संरचनामा आवद्ध गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजित पुनर्मिलन कार्यक्रमले विद्यालय र पूर्व विद्यार्थी बीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।





















