सिन्धुली । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कमलामाई नगरपालिका–५ सिन्धुलीको १९औँ वार्षिक साधारणसभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सभाको अवसरमा माध्यामिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । संस्थामा आवद्ध शेयर सदस्य तथा शेयर सदस्यका सन्तानमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो भने संस्थामा आवद्ध ३४ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको हो ।
साधारणसभामा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने संस्थागत बिद्यालयबाट सिद्वस्थली अंग्रेजी माध्यमिक विद्यालयकी संरचना न्यौपाने र सामुदायिक विद्यालयतर्फ जनजागृति माध्यमिक विद्यालय भिमानका सौगात दाहाललाई सम्मान गरिएको हो । उनिहरुलाई ३ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका शेयर सदस्यका सन्ततिमध्ये संस्थागत तथा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा र छात्रलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरिएको छ ।
यसैगरी, ६५ वर्षमाथिका जेष्ठ शेयर सदस्यलाई पनि सहकारीले सम्मान गरेको छ । सहकारीले ३४ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको हो । उनीहरूलाई सञ्चार सेवा बापत वार्षिक एक हजार दुई सय रुपैयाँका दरले रकम प्रदान गरि सहकारीले सम्मान गर्दै आएको हो ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष तिलकबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि देवकोटाले सहकारी संस्थाको गरिमा, ऐतिहासिकता र गौरव जोगाउँदै संस्थागत सुशासन कायम गर्नुपर्नेमा जोड दिइन् । सहकारीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सञ्चालक समिति तथा व्यवस्थापनमा मात्र सीमित नभई सम्पूर्ण सदस्यको साझा जिम्मेवारी भएको उनले बताइन् । सहकारीलाई भविष्यको साथी र सामूहिक सहकार्यको प्रतिफलका रूपमा उल्लेख गर्दै उनले संस्थालाई दिगो र व्यवस्थित बनाउन सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छिन् ।
संस्थाका अध्यक्ष कार्कीले सदस्यहरूको हितलाई केन्द्रमा राखेर सहकारीका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको बताए । आर्थिक कारोबारमा पारदर्शिता, मितव्ययिता र अनुशासन कायम गर्दै सदस्यको बचत सुरक्षित राख्ने तथा लगानी गरिएको ऋणको प्रभावकारी असुलीलाई प्राथमिकतामा राखिएको बताए । उनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो वर्ष ५७५ जना शेयर सदस्य रहेकामा आर्थिक वर्षको अन्त्यसम्म सदस्य सङ्ख्या ५८९ पुगेको जानकारी दिए। ऋण असुली सन्तोषजनक रहेको र धितो तथा जमानतका आधारमा गरिएको ऋण लगानीको प्रभाव सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८२/०८३ मा साधारणसभा, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सहित विभिन्न बैठक सञ्चालन गरिएको विवरण पनि प्रस्तुत गरिएको थियो ।
त्यस्तै संस्थाका सचिव वेदराज काफ्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । सहकारीले सदस्यको आवश्यकता र कर्जा तिर्न सक्ने क्षमताका आधारमा ऋण उपलब्ध गराउने, लगानीको अनुगमन गर्ने तथा कर्जा असुलीलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी गराएका थिए ।
सहकारीले व्यक्तिगत आवश्यकता, व्यवसाय सञ्चालन, घर निर्माण तथा मर्मत र जग्गा खरिद लगायत प्रयोजनका लागि कर्जा उपलब्ध गराउँदै आएको पनि उनले बताए ।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष युवराज थापाले संस्थाका आर्थिक गतिविधि तथा उपलब्धिबारे जानकारी गराउँदै आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । सभाले उक्त आयव्यय विवरण सहित प्रस्तुत प्रस्तावहरू पारित गरेको छ । साधारणसभामा संस्थाका गतिविधि, प्रगति विवरण तथा विभिन्न प्रतिवेदन समेटेर प्रस्तुत गरिएको थियो ।
साधारणसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र अनुमानित आयव्यय विवरण र प्रस्तुत गरिएको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा कमलामाई नगरपालिका सहकारी संघका अध्यक्ष मुकेश तामाङ लगायत विभिन्न सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेका थियो । उनीहरुले वार्षिक साधारणसभाको शुभकामना व्यक्त गरेका थिए ।




















