सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्ण कुमार रिजाल प्रधानमन्त्री कार्यालयको निर्देशनमा कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको वर्दि सहितको प्रहरी टोलीले विहिबार कार्यकक्षबाटै पक्राउ गरि काठमान्डौ पठाएको हो ।
अनुसन्धानका लागि भन्दै उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ तर कुन मुद्दामा पक्राउ गरिएको भन्ने बारेमा प्रहरीले जानकारी दिएको छैन । पक्राउ गरि रिजाललाई काठमान्डौ प्रहरी परिसरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले पुष्टि गरेका छन् । उनका अनुसार अनुसन्धानका लागि उपस्थित गराउन निर्देशन प्राप्त भएको र सोहि अनुसार रिजाललाई काठमान्डौ लगिएको श्रेष्ठले जानकारी दिएका छन् ।
रिजाललाई के कति कारणले पक्राउ गर्नुपर्ने भएको हो भन्ने बारेमा भने डिएसपी श्रेष्ठले खुलाउन मानेनन् । सुनकोशी मरिण डाईभर्सनको आगामी सोमबार खुल्ने हेडवर्क निर्माण र विद्युत गृह निर्माणको लागि आर्थिक टेण्डर खुल्ने मिति तय भएको थियो । सोहि टेण्डरमा दवाव दिन टेण्डरको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरिएको हुन सक्ने आँकलन गरिएको छ तथापी स्पष्ट कारण खुल्न सकेको छैन ।
उक्त आयोजनाको बाँकी काम निर्माणका लागि आह्वान गरिएको टेण्डरमा ६ वटा कम्पनीको आवेदन परेकोमा ३ वटा निर्माण कम्पनीले प्राविधिक परिक्षण पास गरेका थिए । ती मध्ये एउटा कम्पनीले आर्थिक टेण्डर पास गर्ने निश्चित थियो । प्राविधिक परिक्षणमा चाईना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन बेईजिङ, अन्नेग आरसिसि जेभि र सिन्नोहाईड्रो कर्पोरेशन चाईना पास भएका थिए । उनीहरुको आर्थिक टेण्डर सोमबार खोल्ने सूचना आयोजनाले द राईजिङ नेपालमा असोज २७ गते प्रकाशन गरेको थियो ।





















