सिन्धुली । वर्षा, बाढी, पहिरोका कारण जिल्लाभर खानेपानीको समस्या भएको छ । जिल्ला सदरमुकामदेखि ग्रामीण भेग सम्म खानेपानीको अभाव भएको भन्दै खानेपानीका लागि छलफल गरि व्यवस्थापन गर्नुपर्ने जिल्लाका सरोकारवालाले बताएका छन । पछिल्लो समय जिल्लाका सबै स्थानीय तहमा खानेपानीको अभाव भएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
उनले खानेपानी अभाव र जथाभावी तरिकाले पानी खाँदा रोगको संक्रमण बढ्न सक्ने भन्दै जिल्ला अस्पताल सिन्धुलीलाई सूचना सम्प्रेषणका साथै उपचारमा ध्यान दिन समेत आग्रह गरेका छन । उनले जिल्ला अस्पतालमा विरामीको अवस्थाको बारेमा समेत जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमसँग जानकारी लिएका छन । खानेपानी, सिंचाई, पशुपंक्षिको क्षतीको एकीन तथ्यांक नआईसकेको प्रजिअ गौतमले बताए ।
लिफ्ट सिंचाई र खानेपानीका १३ आयोजना भत्किए
जिल्लाको सुनकोशी गाउँपालिकाका १३ वटा लिफ्ट सिंचाई र खानेपानी योजना बाढी र पहिरोका कारण भत्किएका छन । गाउँपालिकाले गाउँपालिकाको सबै क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरेर लिफ्ट खानेपानी र सिंचाईका लागि १५ वटा योजना सञ्चालनमा ल्याएकोमा २ वटा योजना मात्र बाँकी रहेको गाउँपालिकाका अध्यक्ष दिपा दाहाल बोहराले बताईन ।
उनका अनुसार गाउँपालिका बासीले बलेसी, खोल्साको असुरक्षित खानेपानी खान बाध्य भएको अनुगमनमा पाईएको छ । पानीको हाहाकार भएको पनि उनले जनाईन ।
सिन्धुलीमाढीमै खानेपानीको अभाव
लगातारको वर्षाका कारण सदरमुकाम सिन्धुलीमाढीमा पनि खानेपानीको अभाव भएको छ । एकसातादेखि सदरमुकामका अधिकांश ठाउँमा पानीको अभाव भएको हो ।
गडौली खोलामा रहेका ३ वटा खानेपानीको मुहानमा क्षती पुगेका कारण खानेपानी वितरणमा समस्या आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।
उनका अनुसार बुधबारसम्म २ वटा मुहानको मर्मतको काम सकिएको र एकवटा मात्र बनाउन बाँकी रहेकाले विहिबारसम्म सबै क्षेत्रमा खानेपानी पु¥याइने बताए । बुधबारसम्म ८० प्रतिशत क्षेत्रमा खानेपानी उपलब्ध गराईएको भए पनि केहि ठाउँमा खानेपानी आपूर्ति गर्न सकिएको छैन ।





















