सिन्धुली । साढे चार किलो (३ सय ८९ तोला) चाँदीका सामान सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो एक बजे कनपा ६ सिन्धुलीबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले चाँदी सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रामेश्वर प्रसाद यादवले बताए ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गरि यादवले कटारी नगरपालिका वडा नं. ८ का २२ वर्षिय कुशल निरौलालाई पक्राउ गरेको बताए । काठमान्डौबाट कटारीतर्फ जाँदै गरेको ना१ज ६०७६ नम्बरको टाटासुमोबाट चाँदी सहित निरौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चाँदीको गणेशको मूर्ति एक वटा, दुर्गाको मूर्ति एक वटा, सिक्री ५ वटा, पूजा गर्ने थाल १, चाँदीको बुट्टेदार थाल १, टिका रंगा थाल २, सिक्का ठूलो ५ वटा, सिक्का मझौला ७ वटा, सिक्का सानो ९ वटा, पाउजु १ जोर, बाला ३ जोर, कालो मुंगा भएको औंठी २ वटा, करुवा १ वटा, खड्कुलो एक वटा, प्लेट १वटा, घण्टी १, पञ्च पत्र १ र चम्चा २ वटा लगाएतका चाँदीका गहना तथा भाँडाकुडा सहित पक्राउ गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
यस्तै प्रहरीले नगद, एटिएम कार्ड, खाली चेक, मोवाईल तथा एलईडी सहित करिब तीन लाख बराबरको सामान बरामद गरेको जनाएको छ । प्रहरी प्रमुख एसपी यादवका अनुसार पक्राउ गरिएका निरौला र बरामद गरिएका सामान कारवाहिका लागि राजस्व कार्यालय पथलैया पठाईने छ ।






















