सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले न्यायिक समिति (कार्यविधि सम्बन्धि) विद्येयक २०७५ सहित सात कानुन निर्माण गरि दोस्रो नगरसभा तथा नगरपालिकाको विधानसभाको बैठकबाट पास गरेको छ । आइतबार र सोमबार सिन्धुलीमाढीमा सम्पन्न सभाले सातवटा अत्यावश्यक विद्येयक पास गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको सभाले स्वीकृत गरेका अन्य विधेयकहरुमा शिक्षा विधेयक, सहकारी विधेयक, कृषी व्यवसाय प्रबद्र्धन विधेयक, प्रशासकीय कार्यविधी (नियमित गर्ने) विधेयक, संघ संस्था दर्ता विधेयक र सडक तथा सार्वजनिक मापदण्ड विधेयक रहेको नगरपालिकाका प्रबक्ता कर्णबहादुर घिसिङले जानकारी दिए ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले २०७५ वैशाख ३० र ३१ गते बसेको दास्रो नगरसभाको वैठकले बाट भएका निर्णहरु सार्वजनिक गरेको छ । यसैगरी नगरपालिकाले बैठकले गरेका अन्य निर्णयहरु समेत प्रेस विज्ञप्ती जारी गरि सार्वजनिक गरेको छ । कमलामाई नगरपालिका वडा नं.६, २ नं. बजारबाट धुराबजारसम्म विद्युत लाइन अण्डरग्राउण्ड गर्ने, कनपा–२ मा विद्युत लाइन निर्माण गर्ने, वडा नं. १,२,३,४,५,७ र १२ मा विद्युत लाइन व्यवस्थित गर्ने र भोल्टेज सुधार गर्ने तथा कनपा–९ बाट १० हुँदै तीनपाटन गाउँपालिका देखी गोलञ्जोर हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडक निर्माण कार्यका लागि प्रदेश सरकार समक्ष बजेट विनियोजनका लागि अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी कमलामाई नगरपालिकाको पाश्र्वचित्र तयार गर्ने, नगरपालिकाको विशिष्ट पहिचान झल्कने ब्याच तयार गर्ने तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम छनौटको लागि वडा भेला गर्ने जस्ता निर्णयहरु समेत सभाले गरेको नगरपालिकाले जनाएको छ ।























