सिन्धुली । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीको तिनपाटन गाउँपालिका–११, चकमकेमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित कृष्ण जन्माष्टमी महोत्सव–२०८३ गरिने भएको छ ।
स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिक मनोरञ्जनलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सेती सुन्दरी युवा क्लब, तिनपाटन–११ चकमकेको आयोजनामा महोत्सव गर्न लागिएको हो । पर्वलाई थप उत्साहपूर्ण र आकर्षक बनाउन विभिन्न उमेर समूहलाई लक्षित गर्दै मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ।
महोत्सव शुक्रबार आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत दिउँसो स्लो बाइक रेस, भाले झुन्ड्याउने प्रतियोगिता र हाँडी फुटाउने प्रतियोगिता सञ्चालन गरिनेछ । यस्ता प्रतियोगिताले स्थानीय युवादेखि बालबालिका तथा सर्वसाधारणसम्मलाई मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ ।
त्यस्तै, महोत्सवको विशेष रात्री कालिन आकर्षणका रूपमा मड्का फुटाउने प्रतियोगिता आयोजना गरिने भएको छ । रातीको समयमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी तथा दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ ।
कृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै स्थानीय समुदायबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना थप मजबुत बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
आयोजकले महोत्सवमा स्थानीयवासी, युवाहरू तथा सम्पूर्ण शुभेच्छुकहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ । कृष्ण जन्माष्टमीको अवसरमा चकमकेमा हुने यस महोत्सवले स्थानीय क्षेत्रमा पर्वको उत्साहसँगै मनोरञ्जन र सामाजिक एकताको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।





















