सिन्धुली । लेखा समूह सिन्धुलीले मरिण गाउँपालिकाले लेखाअधिकृत सञ्जित बुढाथोकीको सरुवा फिर्ता गर्न गरेको निर्णय त्रुटिपूर्ण रहेको जनाएको छ । लेखा समूहका अध्यक्ष पदम मगर र सचिव डिल्ली सौगात घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखा शाखामा तालाबन्दी गरि पालिकाका प्रमुख विमर्श मोक्तानले हस्ताक्षर गरि सरुवा फिर्ताको लागि बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाले सञ्जितलाई मंसिर १९ गतेको कार्यपालिकाको बैठकबाट सरुवाको निर्णय गरि पत्र थमाएको थियो । कानुन विपरित सरुवाका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने गाउँपालिकाको निर्णय त्रुटिपूर्ण रहेको लेखा समूहले जनाएको हो ।
मंगलबार विज्ञप्ती जारी गर्दै स्थानीय तहहरुमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गरि कार्यसम्पादन गर्न मनोवल गिराउने कार्य हुने गरेको, कानुन विपरितका कार्य गर्न र आफु अनुकुलका काम गर्न दवाव दिने काम कर्मचारी माथिको अन्याय रहेको उल्लेख गरिएको छ ।
लेखा समूहले गाउँपालिका भित्र रहेका आन्तरिक समस्याहरु छलफल र सम्वादद्वारा समाधान गरि कर्मचारीलाई काम गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।
मरिणका अध्यक्षले लगाए लेखा शाखामा ताला, लेखा अधिकृतले असहयोग गरेको भन्दै थमाए सरुवाको पत्र





















