सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कृषि, यातायात र पुर्वाधारको विकासका लागि प्रदेश सरकार सधै अग्रसर रहने बताए । मुख्यमन्त्री बानियाँले गरिवी निवारणका लागि कार्यक्रम लिएर नीजि क्षेत्रसँगको सहकार्यमा काम गर्ने बताए । उनले किसानलाई संमृद्धिको अभियानमा जोड्न र उत्पादनमा प्रोत्साहन गर्न आग्रह गरे ।
सिन्धुली उद्योण वाणिज्य संघ सिन्धुलीको ३५ औं वार्षिक साधारणसभालाई मंगलबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै उनले दुग्धजन्य पदार्थबाट बन्ने घिउ, चिज, पनिर जस्ता पदार्थको उत्पादनको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सधै तत्पर रहेको समेत बताएका छन् । हरेक जिल्लामा किसानलाई प्रविधि सहितको दुग्ध उत्पादनमा बागमती प्रदेश सरकारले लगानी गर्ने बानियाँले बताए । उनले अबको शिक्षा प्रविधि र प्राविधिकसँग जोडिएको हुनाले रोजगारमुलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले नीजि क्षेत्रलाई अगाडि बढाउनका लागि प्रयास नभएको बताए । उनले व्यवसायीहरुलाई पनि अधिकार र कर्तव्य दुवैमा सचेत हुन सुझाव दिए । उनले उपभोक्तालाई सन्तुष्ट बनाएर जिम्मेवार व्यवसाय गर्न आग्रह गरेका छन् । उनले नीजि क्षेत्र, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लगायत सबै मिलेर काम गरे व्यवसायीहरुको समस्या समाधान गर्न समेत आग्रह गरेका छन् । श्रेष्ठले रोजगारमुलक शिक्षालाई जोड दिँदै दुग्धजन्य पदार्थको साथै पर्यटन क्षेत्रमा बिकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका मुख्यसचेतक श्याम घिमिरे, विघटित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) र शुशिला थिङ, बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सफल उद्योगी व्यवसायीलाई सम्मान समेत गरिएको छ ।





















