– आफ्नै सरुवाको पत्र बोकेर मुख्यमन्त्री कार्यालय जाँदै लेखा अधिकृत बुढाथोकी
– कार्यपालिका बैठकले ग¥यो कर्मचारी सरुवा गर्ने निर्णय, अध्यक्ष मोक्तानले पत्र काटे
– मैले कार्यपालिकाको निर्णयमा हस्ताक्षर गरेकी छैन : उपाध्यक्ष माझी
– गाउँपालिका अध्यक्षले कर्मचारी सरुवा गर्न मिल्ने कानुनी व्यवस्था छैन: लेखा अधिकृत
सिन्धुली । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले आफ्नै कार्यालयको लेखा शाखामा शुक्रबार तालाबन्दी गरेका छन् । कार्यालयमा ताला लगाएपछि मरिणमा अध्यक्ष र उपाध्यक्षबीच समेत विवाद सुरु भएको छ ।
जनप्रतिनिधि तथा कर्मचारी कसैलाई जानकारी नदिई तालाबन्दी गरेका मोक्तानले आफु अनुकुलको काम नगरेको भन्दै लेखा अधिकृत सञ्जित बुढाथोकीलाई सरुवाको पत्र समेत थमाएका छन् । मोक्तानले आफै हस्ताक्षर गरि स्थायी दरबन्दी नै मरिण गाउँपालिकामा कायम रहि १४ महिनादेखि पालिकामा कार्यरत रहेका बुढाथोकीको सरुवा गरिदिएका छन् । सञ्जित बुढाथोकी शुक्रबार कार्यालयमा आई हाजिर गरि कार्यकक्षमा जाँदा २ वटा ताल्चा लगाएको पाएपछि तालाबन्दी गरेको थाहा पाएका थिए । कसले ताला लगाएको भनि खोजी गर्दा अध्यक्षले ताला लगाएको थाहा भएको थियो ।
अध्यक्ष मोक्तानले कानुन विपरित आफु अनुकुल काम गर्न लेखा अधिकृतलाई पटक पटक दवाव दिँदै आएका थिए । लेखा अधिकृत बुढाथोकीले कानुनले मिल्ने भन्दा बाहेकको काम गर्न नमानेपछि अध्यक्षले तालाबन्दी गरेको खुलेको छ ।
न्यायीक समितिको छलफलका लागि विहानै कार्यालय आएकी गाउँपालिका उपाध्यक्ष बिमला माझीले तालाबन्दी भएको थाहा पाएपछि अध्यक्ष मोक्तानलाई कार्यालयमा बोलाएर छलफल गरेकी थिईन । छलफलका क्रममा मोक्तानसँग नोकझोंक समेत भएको बताईएको छ । उपाध्यक्ष माझी लेखा अधिकृत बुढाथोकीलाई काम गर्न दिनुपर्ने र सरुवा गर्न कानुनतः नमिल्ने बताएकी थिईन । तर अध्यक्षलाई जसरी पनि लेखा अधिकृतलाई सरुवा गर्नु थियो । मोक्तानले तत्काल कार्यपालिकाको बैठक बोलाएर बुढाथोकीको सरुवा गर्ने निर्णय गराएर बुढाथोकीलाई सरुवाको पत्र थमाए ।
कार्यपालिकाको उक्त निर्णयमा पालिका उपाध्यक्ष माझीले भने हस्ताक्षर गरेकी छैनन् । ‘कार्यपालिका बैठकमा मैले आफ्नो कुरा राखें, अध्यक्षको प्रस्तावमा सहमत हुन सकिनँ, हस्ताक्षर नगरि बैठकबाट बाहिरिएँ’, उनले भनिन् ।
कार्यपालिकाको निर्णयसँगै मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेशलाई अध्यक्ष मोक्तानले पत्र लेखे । पत्रमा ‘बुढाथोकीको कार्यसम्पादन चित्त बुझ्दो नरहेको र कर्मचारीहरुबाट समेत लेखा अधिकृतको कार्यसम्पादन प्रति लिखित रुपमा गुनासो आएको आईरहेको’ उल्लेख गरिएको छ । तर पालिकामा कुनै पनि कर्मचारीले लेखा अधिकृतको सवालमा कुनै लिखित उजुरी दिएको आफुलाई जानकारीमा नरहेको उपाध्यक्ष माझीले बताएकी छिन् ।
मोक्तानले हस्ताक्षर गरेको उक्त पत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडालाई पत्र लेखेर बुढाथोकीलाई कामकाज नगराउने र निजको विकल्पमा अर्को लेखा अधिकृत वा लेखा सम्बन्धि कामकाज गर्ने कर्मचारीको वैकल्पिक व्यवस्थाका लागि समेत अनुरोध गर्ने निर्णय भएको हुँदा आवश्यक कार्यार्थ त्यहाँ पठाईएको उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्षले सरुवाको पत्र थमाएपछि आफ्नै सरुवाको चिठी बोकेर बुढाथोकी आईतबार मुख्यमन्त्री कार्यालय हेटौडा जाने भएका छन् । बुढाथोकीले पालिकाले आफुलाई हालसम्म कुनै स्पष्टीकरण समेत नसोधेको, आफ्नो कुरा राख्ने अवसर समेत नदिएको र एकैचोटी सरुवाको पत्र थमाएको बताए ।
लेखा शाखासँग पालिका अध्यक्षले गत असारमा प्रक्रिया नपुगेका योजनाहरुको भुक्तानीको दवाव दिएपछि विवाद भएको थियो । असारमा पनि लेखा अधिकृत बुढाथोकी अध्यक्षसँगको टकरावका कारण एक हप्ता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हाजिर भएका थिए ।
‘उहाँ (अध्यक्ष) ले कानुनले नमिल्ने कुराहरुमा समेत भुक्तानी दिन दवाव दिनुहुन्छ, मैले कानुनले मिल्ने बाहेकको काम गर्न सक्दिनँ, खास समस्या त्यहि हो,’ बुढाथोकीले भने । विशेष गरि आन्तरिक श्रोतको बजेट कार्यान्वयनमा सधै समस्या आउने गरेको पनि उनले खुलासा गरेका छन् ।
‘म नीतिगत कुरा गर्छु, उहाँ व्यवहारिक पक्ष हेर्न दवाव दिनुहुन्छ, म आफुलाई कानुनले अप्ठ्यारो पर्ने गरि काम गर्न सक्दिन, समस्या त्यत्ति हो,’ उनले भने । लेखा शाखामा अध्यक्ष मोक्तानले गरेको तालाबन्दी लेखा अधिकृतलाई पत्र थमाईसक्दा समेत खुलेको छैन । घटनाका सन्दर्भमा बुझ्न हामीले गाउँपालिका अध्यक्ष मोक्तानलाई फोन गर्दा फोन उठाएनन् ।





















