सिन्धुली । साईवर अपराध गरेको आरोपमा सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. १ बेलघारीका एक युवा विहिबार पक्राउ परेका छन । राजनीतिक दलका नेताहरुको फोटोलाई कार्टुन बनाई सामाजिक सञ्जालमा राखेको आरोपमा २१ बर्षिय मधु भन्ने तोरणराज पौडेल पक्राउ परेका हुन ।
पक्राउ परेका युवालाई सिन्धुली अस्पतालमा स्वास्थ्य परिक्षण गरि महानगरीय प्रहरी बिट दरबारमार्ग पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए । महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले वैशाख २८ गते पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका नेता वामदेव गौतमको कार्टुन फोटो बनाई सामाजिक सञ्जाल फेसबुकमा राखेको अभियोग लागेको खत्रीले बताए ।





















