सिन्धुली । नेपाल शिक्षक संघ सिन्धुलीले साविक उमावि शिक्षक, राहत शिक्षक, विद्यालय कर्मचारी, छुट अस्थायी शिक्षक र विस्थापित शिक्षकहरुको जायज माग र आन्दोलप्रति ऐक्यबद्धता जनाउने भएको छ ।
नेपाल शिक्षक संघ सिन्धुलीको आइतबार बसेको बैठकको निर्णयअनुसार उक्त निर्णय गरिएको नेपाल शिक्षक संघ सिन्धुलीका उपाध्यक्ष सुमन कोइरालाले बताए । शिक्षक कर्मचारीहरुले आफ्नो हकहित तथा पेशागत स्थायीत्वका लागि उठाएका मागहरुप्रति नेपाल शिक्षक संघ सिन्धुलीको ध्यानाकर्षण भएको र पेशागत हकहीत र गुणस्तरीय शिक्षा विकासका लागि भइरहेका विभिन्न कार्यक्रमप्रति नेपाल शिक्षक संघ साथमै रहने निर्णय उक्त बैठकबाट गरिएको कोइरालाको भनाई छ ।
यसैगरी बैठकले शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले संघीय संसदमा प्रस्तुत गर्न लागेको राष्ट्रिय शिक्षा ऐन २०७५ मा शैक्षिक पेशाकर्माहरुको पेशागत सुनिश्चितता हुनुपर्ने माग राख्ने निर्णय गरिएको उनको भनाई छ । बैठकले आन्दोलनरत पक्षले उठाएका जायज मागलाई सम्बोधन गर्न आवश्यक दवाव र पहलको आवश्यक परेमा पनि नेपाल शिक्षक संघ सिन्धुली तयार रहेको निर्णय भएको कोइरालाले जानकारी दिए ।

























