काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा नेपालको प्राविधिक उच्च शिक्षाका अग्रणी अभियन्ता प्रा.डा. सुरेशराज शर्मा को ८६ वर्षको उमेरमा निधन भएको छ । बुधबार साँझ ६ः५० बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको विश्वविद्यालयले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बरालका अनुसार बिहीबार दाहसंस्कारअघि उनको पार्थिव शरीर ललितपुरको बालकुमारीस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
शर्मा लगातार छ कार्यकाल काठमाडौं विश्वविद्यालयको उपकुलपति बनेका थिए । सन् १९९१ मा स्थापना भएको विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाका रूपमा विकास गराउने श्रेय मुख्यतः उनैलाई दिइन्छ । उनको नेतृत्वमा काठमाडौं विश्वविद्यालयले स्वास्थ्य विज्ञान, जलविद्युत्, वातावरण, सूचना प्रविधि, कृषि तथा इन्जिनियरिङ क्षेत्रमा राष्ट्रिय आवश्यकतासँग जोडिएका अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिएको थियो ।
उनी नेपालमा प्राविधिक शिक्षाको नयाँ अध्याय सुरु गर्ने व्यक्ति पनि हुन् । बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्माले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक निर्देशक समेत भएर काम गरे ।
उनले कर्णालीको जुम्ला, दोलखाको जिरी, धनकुटालगायत दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा विस्तार गर्दै ग्रामीण युवालाई सीपमूलक शिक्षासँग जोड्ने अभियान चलाएका थिए । पछि यही सोच काठमाडौं विश्वविद्यालयको आधारभूत दर्शन बन्यो—गुणस्तरीय, अनुसन्धानमुखी र समाजसँग जोडिएको शिक्षा ।
उनको जन्म सिन्धुली जिल्लामा भएको हो । उनले जिल्लामा प्राविधिक शिक्षाको विकास र विस्तारमा उल्लेख्य योगदान दिएका छन् ।
त्यस्तै, विद्यालय र स्थानीय तहमा प्राविधिक शिक्षाको अवधारणालाई बल पुग्दा सिन्धुलीका सामुदायिक विद्यालय तथा प्राविधिक शिक्षालयहरूले पनि सीपमूलक कार्यक्रम विस्तार गर्ने प्रेरणा पाए । उनलाई शिक्षा क्षेत्रका अब्बल नेतृत्वकर्ताका रुपमा जिल्ला तथा देशभर नै चिन्ने गरेका छन् ।
स्थानीय शिक्षाविद्हरूका अनुसार “सिन्धुलीका ग्रामीण परिवारका छोराछोरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा आफ्नै देशमा पाउने वातावरण निर्माण गर्नु शर्माको दीर्घकालीन योगदान हो ।”
प्रा.डा. शर्माले बूढानीलकण्ठ विद्यालयको अध्यक्षका रूपमा पनि काम गरेका थिए । उनले विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षाबीचको सम्बन्धलाई जोड्दै अनुसन्धान, नवप्रवर्तन र नैतिक नेतृत्वलाई शिक्षा प्रणालीको केन्द्रमा राख्ने अभियान चलाएका थिए ।
प्रा.डा. सुरेशराज शर्माको निधनसँगै नेपालले एउटा यस्तो शिक्षाविद् गुमाएको छ, जसले विश्वविद्यालय स्थापना मात्र गरेनन्, “गुणस्तरीय शिक्षा देशभित्रै सम्भव छ” भन्ने विश्वासलाई संस्थागत रूप दिएका थिए ।




















