सिन्धुली । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाहरुको उद्धार, राहत र अध्ययनका लागि भगवती बालक्लब कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीका बालबालिकाले खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् । भगवती अंग्रेजी माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालयमा गठित भगवती बाल क्लब मार्फत रकम संकलन गरि पठाएका हुन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ३२ हजार ७ सय रुपैंया सहयोग गरेका हुन् । क्लबकी अध्यक्ष सिन्डे«ला साशंकरले कोषमा जम्मा गरेको रकमको भौचर प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई हस्तान्तरण गरेकी छिन् ।
आफुहरु जस्तै बालबालिकाहरु बाढीबाट प्रभावित भएको खबर सुनेपछि बालक्लबले साथीहरुसँग खाजा खर्चको रकम जम्मा गरि सहयोग गरेको भगवती बालक्लबका संरक्षक एवम् भगवती अंग्रेजी माविका सिईओ कृष्ण उप्रेतीले जानकारी दिएका छन् ।
एकादशी समूहबाट सहयोग
यस्तै कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरको एकादशी समूहले पनि बाढी पीडितलाई सहयोग गरेको छ । समूहले समूहका सदस्यहरुबाट संकलन गरि ६ हजार ५ सय रुपैंया सहयोग गरेको जनाएका छन् ।





















