सिन्धुलि । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रचारप्रसार गर्ने उद्देश्य सहित पत्रकारहरुसँग अन्तक्र्रिया गरेको हो ।
चिकित्सालयका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले आयुर्वेद र बैकल्पिक चिकित्सालाई प्रभावकारी प्रचार प्रसार गर्न पत्रकारहरुकोे उल्लेख्य भूमिका रहने बताए । उनले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोग अत्यधिक बढेको बताउँदै स्वास्थ्य जाँच, खानपान व्यवस्थापन जस्ता दैनिक जीवनशैलीलाई व्यवस्थित गर्न आयुर्वेद सम्बन्धि चेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले तनाव व्यवस्थापन, उचित जीवनशैली व्यवस्थापनका लागि आयुर्वेद उपचार सम्बन्धि चेतना जगाउनुपर्ने आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ वागमती उपाध्यक्ष बिमला पाण्डेले पत्रकारहरुको जीवनशैली अस्तव्यस्त हुने, खानपान, आहार, निन्द्राको व्यवस्थापन नहुने र तनावमा काम गर्नुपर्ने भएकाले उनीहरुलाई आयुर्वेद उपचारमा केन्द्रीत गर्नुपर्ने बताईन । उनले अरुलाई सुसुचित गरि सेवा प्रवाहमा सहयोग पु¥याउने पत्रकारले आफ्नो स्वास्थ्यलाई ध्यान दिन आवश्यक रहेको बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटाले आयुर्वेद स्वास्थ्य प्रचारमा पत्रकारहरुको उल्लेख्य सहकार्य रहेको बताए ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाले कार्यालयले प्रदान गरेका सेवाहरुका बारेमा जानकारी गराएका थिए । उनले सो अवसरमा आयुर्वेद उपचार पद्दतिमा नागरिकहरुले सेवा लिने क्रम बढ्दै गएको बताए ।
उनले कार्यालयले बहिरंग सेवा, पञ्चकर्म (पूर्वकर्म सेवा ),निःशुल्क फिजियो थेरापी सेवा,निःशुल्क योग सेवा, निः शुल्क स्वस्थ जिवन प्रवर्धन कार्यक्रम, निःशुल्क औषधी वितरण सेवा, सःशुल्क फारमेसी, निःशुल्क स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ , दुग्धवर्धक आयुर्वेद औषधि वितरण तथा प्रवर्धन कार्यक्रम, निःशुल्क जेष्ठ नागरिकका स्वास्थ प्रवर्धन सेवा कार्यक्रम, अकुपञ्चर सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, जलौका अवचरण सेवा, अग्निकर्म सेवा, वस्तिकर्म सेवा, क्षारसुत्र सेवा, निःशुल्क मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम (हरेक बुधवार),निःशुल्क पथ्य आहार कार्यक्रम, निःशुल्क जानुसन्धीगत वात लगायत सेवा दिई रहेको जानकारी गराए । यसैगरी कार्यालयबाट हाल २७ प्रकारको औषधिहरू निःशुल्क वितरण गर्ने गरेको पनि उनले जानकारी दिए ।





















