सिन्धुली । सिन्धुलीमाढी बजारका केहि खाजा घरहरुमा म्याद नाघेका खाद्य सामग्रीहरु प्रयोग गरि मःम बनाएको भेटिएको छ । सिन्धुलीमा रहेका चलेका साना खाजा घरहरुमा बन्ने मःम मा प्रयोग गरिने मैदा म्याद गुज्रेको भेटिएको जिल्ला स्तरीय अनुगमन समितिले जनाएको छ । अनुगमन टोलीले सिन्धुलीमाढीको गैह्री बजारमा रहेका दुई वटा मःम पसलबाट म्याद नाघेका ५० केजीको ८ बोरा मैदा बरामद गरिएको जनाएको छ । ती होटलबाट १० केजी मैदाको बन्दै गरेको मःम समेत बरामद गरिएको छ ।
म्याद सकिएका मसला, होटलमा बेच्न राखिएका फ्रुटी जस्ता पेय पदार्थहरु लगाएतका सामग्रीहरु बिक्री गरेको पाईएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले विहिबार गरेको अनुगमनमा किराना पसलदेखि खाजा घरहरुमा म्याद सकिएका खाद्य सामग्री बेचेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी विक्रम श्रेष्ठले बताए ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, कमलामाई नगरपालिका, सञ्चारकर्मी सहितको टोलीले गरेको अनुगमनमा ५२ हजार ३ सय ७५ रुपैंया बराबरको म्याद गुज्रेको सामान बरामद गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव ढकालले बताए ।
बरामद गरिएको सामग्री कमलामाई नगरपालिकाको डम्पिङ साईडमा लगि नष्ट गरिएको ढकालले बताए । अनुगमन टोलीले १० वटा होटल तथा किराना पसलहरुमा अनुगमन गरेको थियो ।





















