सिन्धुली । जिल्लाका सबै मतदान केन्द्रहरु डिजिटल सुरक्षा सूचना प्रणालीमा जोडिएका छन् । जिल्लाका दुई निर्वाचन क्षेत्रका १५१ निर्वाचन स्थलका २ सय ७२ मतदान अधिकृतहरु र सुरक्षाकर्मीहरुको सिधा पहुँच पुग्ने गरि निर्वाचन मोवाईल एप्स मार्फत दु्रत सूचना प्रणाली सुरु गरिएको छ । जसको निगरानी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आईटि विज्ञ टोलीले गर्नेछ र प्रत्यक्ष पहुँचमा रहने छ ।
मतदानस्थल र मतगणना स्थलको प्रत्यक्ष सुरक्षा प्रणाली जिल्ला सुरक्षा संयन्त्रसँग जोडिने गरि एप्स नै निर्माण गरि सुरक्षा निगरानी थालिएको हो । जसमा मतदान अधिकृतहरुले बुझेका सामग्री, मतदान अधिकृत सहितको टोली हिडेंको समय, मतदान केन्द्र पुगेको समय, सामानको सुरक्षाको अवस्था, अवाञ्छित गतिविधिका बारेमा तत्काल एप्स मार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
सुरक्षामा आउन सक्ने चुनौती र व्यवस्थापनलाई मध्यनजर गरि कम्तिमा ३० मिनेटमा सबै सुरक्षा थप गर्न सकिने गरि व्यवस्थापन गरिएको छ । सञ्चार र विद्युत पहुँच नपुगेका मतदानस्थलमा इन्टरनेट र विद्युतको समेत व्यवस्था गरिएको छ ।
मतदानपछि पनि मतपेटिका प्रस्थान गरेको, निर्वाचन अधिकृतको कार्यालय आई पुगेको र बुझाएको समेत एप्स मार्फत नै मतदान अधिकृत, सुरक्षा इन्चार्जहरुले जानकारी दिन सक्ने गरि एप्समा पहुँच दिईएको छ । उनीहरुले आवश्यकता अनुसार सुरक्षा माग गर्न सक्ने, अवस्थाको जानकारी गराउन सक्नेछन् । डिजिटल निगरानी टिमले जानकारी पाउना साथ नजिकको सुरक्षा युनिटबाट तत्कालै सुरक्षा खटाउने सक्ने, मोवाईल टिम खटाउन सक्ने र थप सुरक्षाको व्यवस्था गर्ने छ । जसका लागि मतदान केन्द्रको फोटो, दुरी, गुगल म्याप समेत एप्समा जोडिएको छ ।
उक्त एप्स जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीले बनाएका हुन् । जुन एप्स जिल्लाभरीको सुरक्षाका लागि लागु गर्न सक्ने गरि व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वीकृत गरेपछि सुरक्षा योजनामा डिजिटल प्रविधिलाई प्रयोगमा ल्याईएको छ । उक्त एप्समा कति मतपत्र बुझेको, कति मतदान भएको जस्ता सूचनाहरु समेत मतदान अधिकृतले तत्काल दिन सक्नेछन् । जसका लागि फोन गर्नुपर्ने लगाएतका झण्झट समेत हुने छैन । निर्वाचन सकिनासाथ जिल्लाभर कति मतदान भयो भन्ने समेत थाहा पाउन सकिने छ ।
यस्तै उक्त मोवाईल एप मार्फत मत परिणाम समेत थाहा पाउन सकिने छ । मत परिणाम सार्वजनिक गर्न पनि सजिलो हुने गरि काम भईरहेको छ ।





















