सिन्धुली । बुधबार दिउँसो विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । काठमाण्डौंबाट सिन्धुलीको मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीमाढीबाट चियावारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर दुर्घटना भएको हो ।
स्कुटर र बस एकआपसमा ठक्कर खाँदा स्कुटर चालक गोलञ्जोर गाउँपालिका वडा नं. २ वितिजोर घर भई कमलामाई नगरपालिका वडा नं. ६ धुराबजार बस्ने ३५ वर्षिय चन्द्र श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।
दुर्घटनामा परि गम्भिर घाईते भएका स्कुटर चालक श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुवेदीले जनाएका छन् । दुर्घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ का ४१ वर्षिय राज कुमार माझी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















