सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि सिन्धुलीमा पनि बुधबारदेखि सेना परिचालन गरिएको छ । देशभर एकैसाथ सेना परिचालन गर्ने सरकारको निर्णयसँगै जिल्लामा पनि सबै निर्वाचन स्थलमा एकै पटक सेना परिचालन गरिएको हो ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सेना परिचालन गरिएको भवानी वक्स गणका मेजर सुनिल थापाले जानकारी दिएका छन् ।
एकीकृत सुरक्षा योजना–२०८२ अनुरूप बुधबार बिहानैदेखि सेनालाई मैदानमा उतारिएको उनले बताएका छन् । जिल्लामा रहेका १५१ निर्वाचन स्थलमा पुग्ने गरि सेनाको परिचालन गरिएको उनले बताएका छन् । उनका अनुसार करीब ८ सय सेना परिचालन गरिएको छ ।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन् । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै काम गर्ने छ ।





















