सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दुई ठूला दलले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा उमेदवारको टुंगो लगाएका छन् । नेकपा एमालेले क्षेत्र नं. १ मा प्रदीप कुमार कटुवाल र क्षेत्र नं. २ मा मनोजजंग थापाको उमेदवारी टुंगो लगाएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले अघिल्लो निर्वाचनका प्रतिनिधिसभाका उमेदवारलाई नै पुनः उमेदवार बनाएको हो ।
कटुवाल र थापा तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गरि उपविजेता बनेका थिए । गठबन्धनबाट क्षेत्र नं. १ बाट श्याम कुमार घिमिरे निर्वाचित भएका थिए भने क्षेत्र नं. २ बाट लेखनाथ दाहाल (राजन) विजयी भएका थिए ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा उमेदवार चयन गरेको छ । नेकपाबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र प्रसाद सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल (राजन) लाई उमेदवार चयन गरेको हो ।
सिन्धुली क्षेत्र नम्बर १ मा उमेदवार बनेका एमालेका जिल्ला इन्चार्ज समेत रहेका कटुवाललाई जित्दा वा हार्दा होस् वा जुनसुकै बेला गाउँ गाउँका समस्या बुझ्ने, विकासलाई प्राथमिकतामा राख्ने नेताका रूपमा हेरिन्छ । बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, क्याम्पस विस्तारलाई मुख्य एजेन्डा बनाउँदै आएका उनलाई भुईंमान्छेका साथीका रुपमा समेत हेर्ने गरिन्छ । नेकपाबाट उमेदवार बनेका सिन्धुली क्षेत्र नं. १ का उमेदवार सुवेदी भने टुरिष्ट नेताका रुपमा चिनिन्छन् । उनी जिल्लाकै भए पनि काठमान्डौमा बस्ने र भुगोलले कम चिन्ने व्यक्ति हुन् ।
क्षेत्र नं. २ मा एमालेबाट उमेदवार बनेका थापा इन्जिनियरिङ पृष्ठभूमिका हुन् । एमाले सिन्धुलीका निवर्तमान जिल्ला इन्चार्ज थापा कूटनीतिक अनुभव, बौद्धिक क्षमता, वैदेशिक सम्बन्ध र नीतिगत सोंचका कारण चर्चामा छन् । नेकपाबाट दोश्रो पटक सांसद बन्ने तयारीमा रहेका दाहाल युवाको बीचमा चिनिएका अनुहार हुन् । उनलाई चर्चामा आउनका लागि मिडिया ट्रायल गर्ने र विपक्षी दलका नेताहरुलाई गाली गरि चर्चामा आउने गरेको आरोप छ ।
जिल्लामा अन्य दलले भने अहिलेसम्म उमेदवारको टुंगो लगाएका छैनन् । नेपाली कांग्रेसको आन्तरिक विवादका कारण उमेदवार टुंगो लागेको छैन भने अन्य दलहरु रास्वपा, राप्रपा लगाएतका दलहरुले चुनावका लागि उमेदवार चयन गर्ने क्रममा रहेका छन् ।





















