सिन्धुली । शुशिला बम्जन हत्या प्रकरणका आरोपित शुशिलाका सासु मायाँरानी बम्जन र नन्द मिना लामालाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आईतबार जिल्ला न्यायाधिस गहेन्द्रराज पन्तको इजलासबाट उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।
पुस ६ गते आफ्नै घरमा शुशिलालाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको आरोपमा मायाँरानी र मिना पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई अदालतको आदेश बमोजिम सिन्धुली कारागार चलान गरिएको छ ।
प्रहरीले अनुसन्धानपछि उक्त मुद्दा माघ २ गते अदालत पेश गरेको थियो । उक्त मुद्दाका अभियुक्त ससुरा दुर्गामान बम्जन उपचारका क्रममा किर्तिपुर वर्न अस्पतालमा रहेकाले प्रहरीले पक्राउ गरेको छैन भने मुख्य योजनाकार मानिएका श्रीमान सुर्यबहादुर बम्जन कोरियाबाट नेपाल आएका छैनन् । दुवै जना विरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ ।




















