सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. १ पिउरीखोला जंगलमा सोमबार राती एक युवाको शव गोली लागेको अवस्थामा फेला परेको छ । उनको हत्या भएको हुन सक्ने बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका वडा नं. ५ बन्दिपुरका २२ वर्षिय आशमान तामाङको गोली गोली लागि मृत्यु भएको अवस्थामा शव भेटिएको हो । उनी साथीहरुसँग शिकार खेल्न गएको बताईएको छ तथापी को को गएका थिए भन्ने खुलेको छैन ।
आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणमा जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घ्याङ्लेख गाउँपालिका वडा नं.१ पिउरी खोलाको जंगलमा उत्तानो परी नाईटोबाट रगत बगी मान्छेको मृत्यु भएको भनि सोमबार राती प्रहरी चौकी अमलेलाई जानकारी आएको प्रहरीले जनाएको छ ।
सूचना प्राप्त हुनासाथ राती नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल गएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनको गोली लागी मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् । सुवेदीले हत्या भएको हुन सक्ने आशंका रहेको तर केहि नखुलि सकेको बताएका छन् ।
उनका अनुसार मृतक लाश नजिकै बीच भागमा भाँचिएको एक थान भरुवा बन्दुक समेत फेला परेको छ । मृतकले भिरेको अवस्थामा रहेको झोलामा निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो रङको धुलो र रातो बिर्को भएको बट्टा भित्र बारुद जस्तो फलाम र सिसाको टुक्रा फेला परेको उनले बताएका छन् । उनको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको सुवेदीले जानकारी दिए ।
घ्याङलेख गाउँपालिका वडा नं. १ का अध्यक्ष सोम बहादुर भोलनका अनुसार घनघोर जंगलमा गोली लागेको अवस्थामा प्रहरीले शव भेटेको बताएका छन् । हत्या नै हुनसक्ने आँकलन गर्न सकिने उनले बताए .




















