सिन्धुली । नमुना बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा विहिवार सिन्धुलीमाढीमा सम्पन्न भयो । संस्थाका अध्यक्ष खडानन्द तिमल्सिनाको अध्यक्षतामा तथा जेष्ठ सदस्य जयमान तामाङको प्रमुख अतिथ्यतामा साधारणसभाको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोईरालाले नमुना बहुउद्देश्यीय सहकारी संघले अन्य सहकारीको तुलनामा कोष हिसाबको आधारमा उत्कृष्ट सहकारीको रूपमा स्थापित गर्न सफल भएको बताए । उनले जिल्लाका अन्य सहकारीहरुका तुलनामा यो सहकारीले आफुलाई अग्रणी सहकारीका रुपमा उभ्याएको बताएका हुन् ।
वार्षिक साधारणसभा कार्यक्रममा कोषाध्यक्ष लालकाजी श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक आर्थिक प्रगति प्रतिवेदन र सचिव सिताराम पहाडीले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष ०८१/०८२ मा सेयर पूँजीतर्फ ८८ लाख ५७ हजार पाँच सय रूपैयाँ कायम रहेको उल्लेख गरिएको छ ।
संस्थाको बचत ६ करोड ३ लाख ९६ हजार ८ सय अठ्तिस रुपयाँ रहेको छ भने वार्षिक कारोबार ११ करोड ८९ लाख ६१ हजार ७ सय २ रुपैयाँ रहेको साधारणसभामा जानकारी गराईएको छ ।
त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा २ करोड ३६ लाख ८३ हजार ४६ रूपैयाँ रहेको जानकारी गराईएको थियो ।
साधारणसभामा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमा अशल ऋणी सम्मान एवं ऋण सदुपयोगितातर्फ बाख्रा पालन व्यवसायका लागि लगेको ऋणबाट ८० वटा बाख्र पाल्न सफल किसान लाली गुराँस बाख्रापालन समुह कमलामाई नगरपालिका १ गुराँसेका जितवहादुर भोलन सम्मानित भएका छन् ।
त्यसै गरी उत्कृष्ट बचतकर्ताको रुपमा कमलामाई नगरपालिका वडा नं. ६ की अम्भिका बैदारलाई उत्कृष्ट बचतकर्ता सम्मानबाट सम्मानित भईन् । साधारणसभाले शेयर सदस्यहरुलाई ३ दशमलव .१५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको संस्थाका अध्यक्ष खडानन्द तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमितिले प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु छलफल गरी पारित गरिएको अध्यक्ष तिमसिनाले वताए । साधरणसभामा सञ्चालक सदस्य सुवासना ध्वजुले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने सचिव सिताराम पहाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।





















