सिन्धुली । जर्बुटा कला केन्द्र सिन्धुलीको अध्यक्षमा तारा शर्मा लामिछाने निर्वाचित भएकी छिन् । केन्द्रको मंगलबार सम्पन्न चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।
शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा नारायण कुमार पोखरेल, सचिवमा नारायण लामिछाने, कोषाध्यक्षमा शेखरचन्द्र पोख्रेल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सरोज ढकाल, तुलसी ढकाल, प्रशिद्धा शर्मा, सुनिता शर्मा, अम्बिका शर्मा, ऋषि कोइराला र बद्रि बिसंखे निर्वाचित भएका छन् ।
कला केन्द्रका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षता एवम् कमलामाई नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष महेन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा सचिव नारायण लामिछानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शेखरचन्द्र पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका आजिवन सदस्यहरु, यशस्कर सदस्यहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने संस्थाका जेष्ठ सदस्य ९३ बर्षिय देवमाया लामिछानेलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष ढकालले संस्थाको विकासको लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले जर्वुट्टा कला संग्रहालयको व्यवस्थापनसँगै सशुल्क हेर्न सक्ने व्यवस्था गर्नुपर्ने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबै पक्षसँग सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष तारा लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने तुलसी ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।





















