सिन्धुली । अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले जिल्ला र देशभर बढ्दो महिला हिंसाका घटनाप्रति गम्भिर चिन्ता व्यक्त गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
महिलामाथि हुने हिंसा केवल लैङ्गिक विषय मात्र नभई समाजको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने गम्भिर समस्या भएको उल्लेख गर्दै यसको न्युनिकरणमा सरकारको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाईएको हो । नयाँ प्रविधिको विकाससँगै साईबर अपराध मार्फत हुने हिंसा तीव्र रूपमा बढिरहेको तथ्य समेत संघले ज्ञापनपत्रमा प्रस्तुत गरेको छ ।
नेपाल प्रहरी साइबर ब्यूरोका तथ्यांक उद्दृत गर्दै ज्ञापनपत्रमा गत १२ महिनामा देशभरबाट १८ हजार ९ सय २६ साइबर अपराधका घटनाहरू दर्ता भएको उल्लेख गरिएको छ । महिला सम्बन्धि धेरै घटना लज्जा, अस्मिता तथा सामाजिक दबाबका कारण उजुरीसम्म आइपुग्न नसक्ने संघको भनाइ रहेको छ ।
स्थानीय तहका महिला जनप्रतिनिधि बढी हिंसाको जोखिममा रहेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । आगामी निर्वाचनको घोषणापछि महिलाको समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र हिंसाबाट सुरक्षित वातावरण निर्माण गर्न सरकारको विशेष ध्यान जान आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सिन्धुली जिल्लामा समेत महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना भयावह हुँदै गएको संघले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षमै १० वटा महिला हिंसाका घटना सार्वजनिक भएको र परिवारभित्रकै सदस्यबाट ४ वर्षका बालिका समेत पीडित हुने घटना सार्वजनिक भएपछि संघले सरकारको विशेष हस्तक्षेप आवश्यक रहेको भन्दै ध्यानाकर्षण समेत गराएको छ ।
अनेमसंघ सिन्धुलीले महिला हिंसा नियन्त्रण, उजुरी प्रक्रिया सरल तथा सहज बनाउने, दोषीविरुद्ध कडा कारबाही गर्ने र निर्वाचन अवधिमा महिला सहित आम नागरिकको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग समेत गरेको छ ।
अनेमसंघ सिन्धुलीका उपाध्यक्ष तुलसा देवकोटाद्वारा हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्र अनेमसंघका केन्द्रीय स्थायी कमिटी सदस्य मिथिला फुयाँलको नेतृत्वको टिमले सहायक प्रमुख जिल्ला अधिकारी किरण नीधि तिवारीलाई हस्तान्तरण गरेका हुन । ज्ञापनपत्र गृह मन्त्रालय, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगलाई समेत बोदार्थ दिईएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले कार्यान्वयनका लागि ध्यानाकर्षण गरिएका सबै निकायहरुलाई उक्त पत्र पठाउने प्रतिवद्धता जाहेर गरेका छन् ।





















