सिन्धुली । जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीका कारण क्षतिग्रस्त जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा झण्डोत्तोलन गरि शुक्रबार संविधान दिवस मनाईएको छ ।
कार्यालय र कार्यालय परिसर सरसफाईपछि सामान्य सेवा सुरु गरेको प्रशासनले संविधान दिवस पारेर कार्यालय परिसरमा झण्डोत्तोलन गरि संविधान दिवस मनाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले झण्डोत्तोलन गरेका छन । उक्त अवसरमा नेपाल प्रहरीले झण्डा सलामी समेत दिएको छ । जिल्लाका सरकारी कर्मचारीहरु, प्रहरी, प्रशासन, पत्रकारहरुको उपस्थितिमा जिल्ला प्रशासनमा झण्डोत्तोलन गरिएको हो ।
झण्डोत्तोलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले हाम्रा व्यवहार, कार्यशैली र जनतालाई सुशासन दिन सबैको प्रतिवद्धता र ऐक्यवद्धता आवश्यक रहेको बताएका छन ।
आन्दोलनका क्रममा जेनजी युवाहरुले प्रशासनमा रहेको झण्डा डण्डी सहित उखेलेर लोकतान्त्रिक चोकमा लगेर गाडेका थिए ।
यस्तै फिक्कल गाउँपालिकाले पनि कार्यालय परिसरमा झण्डोत्तोलन गरेर संविधान दिवस मनाएको छ । फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले झण्डोत्तोलन गरिन ।




















