सिन्धुली । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्न र चाडवाड लक्षित सडक सुरक्षाका लागि सरोकारवालालाई जिम्मेवारी तोकिएको छ । विहिबार सवारी दुर्घटनाबाट आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने मूल नारा सहित सडक सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि सरोकावालाहरुसँग अन्तरक्रिया तथा छलफल गरि सडक, सवारी सुरक्षाका लागि जिम्मेवारी तोक्ने निर्णय गरिएको हो । छलफलबाट सडकमा भएका खाल्डाखुल्डी मर्मत गरी आवश्यक स्थानमा मार्किङ गर्ने, जेव्राक्रस राख्ने, बाटोमा अवस्था अनुसार तीव्र गतिको निर्धारण गर्ने र तीव्र गति बोर्ड राख्ने, बढी दुर्घटना हुने ठाउँहरुमा ब्लाक स्पोर्ट, पहिरो जाने ठाउँ, ढुङ्गा खस्ने ठाउँहरुमा ठाउँ अनुसारको साङ्केतिक बोर्डहरु राख्ने, राजमार्गमा रहेको बार भत्के वा नरहेको ठाउँहरुमा बार राख्ने कामको जिम्मेवारी सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीलाई दिने निर्णय भएको हो ।
त्यस्तै यातायात व्यवसायी संघ तथा समितिहरुले मादक पदार्थ तथा लागु पदार्थको सेवन गरि सवारी चलाउन र तीव्र गतिमा सवारी चलाउन नियन्त्रण गर्ने, भाडादर रेट निर्धारण गर्ने, यात्रुलाई टिकट र गाडीमा चलान गर्ने, अशक्त अपाङ्गताको लागि भाडा छुट र आरक्षण सिटकोे नियम पालना अनिवार्य गर्नुपर्ने निर्णय भएको छ । यातायात व्यवसायीले सिट क्षमता अनुसारको यात्रुहरु सवारी साधनमा राख्ने, २५० कि.मि भन्दा लामो दुरीको बसमा अनिवार्य दुई जना चालक राख्ने, सवारीको छतमा यात्रु र व्यवसायीक मालसामान बोक्न नहुने, समय समयमा सवारी साधनको यान्त्रिक परिक्षण र चालकको स्वास्थ्य परिक्षण गर्ने, चालकलाई नागरिक एपमा आवद्ध गराउन प्रेरित गर्ने, बाटोमा एम्बुलेन्स, फायर ब्रिगेड, प्रहरी भ्यान लगाायत अति आवश्यक गााडीहरुलाई प्राथमिकता दिने र जेब्राक्रसमा पैदल यात्रुलाई प्राथमिकता दिई तोकिएको ठाउँबाट मात्र पिक एण्ड ड्रप गर्ने व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ ।
यस्तै ट्रक व्यवसायी सघंलाई अत्यधिक भार नबोक्ने, भवर लोड नगर्ने र ढाला खुल्ला नराख्ने व्यवस्था अनिवार्य गर्ने निर्णय गरिएको छ । यस्तै उनीहरुलाई धर्मकाँटा अनिवार्य गर्नुपर्ने समेत निर्णय भएको छ । त्यस्तै अटो व्यवसायीले तोकिएको ठाउँमा पिक एण्ड ड्रप गर्ने, तोकिएको ठाउँमा मात्र पार्किङ गर्ने, भाडादर रेट बमोजिम मात्र लिने, सिट क्षमता भन्दा धेरै यात्रु नबोक्ने र सवारी चालक अनुमतिपत्र वाहकले मात्र अटो चलाउन पाउने निर्णय गरिएको छ ।
कमलामाई नगरपालिकालाई सदरमुकाम सिन्धुलीमाढी बजार भित्र रहेका सडकमा रोड मार्किन्ग गर्ने र जेब्रा क्रस बनाउने वा मर्मत गर्ने, स्थायी अटो पार्किङको स्थान निर्धारण गर्ने र १ नं बजार, २ न. बजार, गैरीबजार, धुराबजारमा व्यवस्थित पार्किङको व्यवस्था मिलाउने जिम्मेवारी दिईएको छ ।
सिन्धुली उद्योग वाण्ज्यि संघ, टोल सुधार समितिले बजार क्षेत्रमा हाल रहेका पार्किङको व्यवस्थालाई व्यवसायी स्थानीयको पहलमा पालना गराउन सहयोग गर्ने, बजार क्षेत्रको लागि सडक एरिया बाहेक अन्य स्थानमा स्थायी पार्किङको व्यवस्था गर्न सहयोग गर्ने, मालसामान लोड, अनलोड बिहान ८ बजेदेखि पहिला र बेलुका ६ बजेदेखि मात्र गर्न पाउने व्यवस्थालाई कार्यान्वयन गराउन पहल गर्ने समेत बैठकले निर्णय गरेको छ । त्यसैगरि चाडपर्व लक्षित नागरिक सहायक कक्ष राख्ने निर्णय समेत छलफलबाट भएको छ ।
यस्तै सुनकोशी मरिण ड्राइभर्सन आयोजनालाई आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दा मापदण्ड अनुसारको गााडी र भार क्षमता अनुसार मात्र ढुवानी गर्न सिफारिस दिने र मापदण्ड भन्दा बढीको ढुवानी गर्दा जिल्ला प्रशाासन कार्यालयको अनुमतिपत्र लिई मात्र ढुवानी गर्ने निर्णय समेत गरिएको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल सहित जिल्लाका सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी निकायहरु, सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो ।





















