सिन्धुली । जिल्लाका स्थानीय तहले सार्वजनिक सेवा सुधार र असल प्रशासनिक अभ्यास प्रवद्र्धनका लागि लिखित प्रतिवद्धता गरेका छन । जिल्लामा पहिलो पटक यस्तो प्रतिवद्धता गरिएको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीले बिहिबार सिन्धुलीमाढीमा आयोजना गरेको जिल्लास्थित स्थानीय तहहरूको असल अभ्यास सम्बन्धि अनुभव आदान–प्रदान कार्यक्रममा सहभागि जिल्लाका नौ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले उक्त प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन ।
उक्त प्रतिवद्धता पत्रमा सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन मानक सञ्चालन प्रक्रिया निर्धारण गरी लागू गर्ने, सेवा प्रवाहपछि नागरिक सन्तुष्टि मापन गर्न ‘सिटिजनसिप स्कोर कार्ड’ को व्यवस्था गर्ने, भौगोलिक कठिनाइका कारण सेवाग्राहीले भोग्ने समस्या कम गर्न सूचना प्रविधिको प्रयोग गर्ने, मुस्कान सहित सेवा प्रवाह गर्ने र वित्तिय अनुशासन तथा सुशासन कायम गर्दै बेरुजु न्यूनिकरणलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ ।
जिल्ला समन्वय अधिकारी तिर्थराज पौडेलले नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले सामूहिक प्रतिवद्धता जनाएका र यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले प्रतिवद्धता कार्यान्वयन चुनौतीपूर्ण रहेको समेत उल्लेख गरे । कार्यक्रममा नौ वटै स्थानीय तहले सञ्चालन गरेका असल अभ्यास समेत प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्लाका नौ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।





















