सिन्धुली । जिल्ला हुलाक कार्यालय सिन्धुलीले स्मार्ट हुलाक सेवा सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालय सिन्धुलीबाट सेवा प्रवाह हुने गरि प्रविधिसँग हुलाक सेवा जडान गरि सेवा सुचारु गरेको हो ।
आइतबारदेखि उक्त सेवा सञ्चालनमा आएको छ । सेवाको शुभारम्भ कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गरेका छन ।
पोखरेलले रिवन काटेर सेवा उद्घाटन गरेका हुन । हुलाक अधिकृत कुमार थापाका अनुसार स्मार्ट हुलाक सेवा मार्फत अब सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र र राहदानीका अनलाईन फारम निःशुल्क भरिनेछ । सेवाग्राहीलाई आवश्यक प्रिन्ट आउट पनि निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
यस्तै उनले युटिलिटी पेमेन्टको सेवा पनि दिईने थापाले बताएका छन । जसमा विजुली, टेलिफोन, खानेपानीका बिल भुक्तानी अनलाईनबाट गरिने गरि व्यवस्था मिलाईने छ । सबै नागरिकहरु प्रविधिसँग जोडिएर सेवा लिन नसक्ने अवस्थामा सहज सेवा दिनका लागि यो सेवा सुरु गरिएको उनले बताए ।
सेवा सञ्चालनका लागि ४ वटा कम्प्युटर, प्रिन्टर लगाएतका सामग्रीहरु जडान गरिएको छ । ४ जना कर्मचारीलाई प्रविधि सञ्चालनका लागि तालिम दिईएको छ ।
थापाका अनुसार आगामी दिनमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका विभिन्न परीक्षा सम्बन्धी अनलाइन फारामहरू पनि निःशुल्क भरिने सेवा थप्ने तयारी भइरहेको छ ।
यस्तै स्मार्ट हुलाक सेवा जिल्लाका सबै स्थानीय तहमा पु¥याईने लक्ष रहेको पनि थापाले जानकारी दिएका छन । डेढ, दुई महिनामा नै यो सेवा जिल्लाका ९ वटै स्थानीय तहमा पु¥याईने लक्ष रहेको उनले जानकारी दिए ।
सेवा उद्घाटन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले समय अनुसार सबै नागरिकलाई प्रविधिमैत्री सेवामा जोड्दै लानुपर्ने आवश्यकता रहेको बताएका छन ।
कार्यक्रममा गोश्वारा हुलाक कार्यालय डिल्लीबजार, काठमाडौंका प्रमुख हुलाक अधिकृत लिला बल्लभ न्यौपाने, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्ले, कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकाल लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





















