सिन्धुली । नेवार समुदायले नेवारी संस्कृती र विभिन्न झाँकी सहित सिन्धुलीका नेवार समुदायले कृष्णजन्माष्टमी मनाएका छन ।
सिन्धुलीमाढीको २ नं. बजारमा रहेको भिमसेन मन्दिरबाट सुरु भएको लाखे र रोपाईं जात्रा बजार परिक्रममा गर्दै ढुंग्रेबासमा रहेको कृष्ण मन्दिरमा पुगेर समापन भएको छ ।
जात्रामा लाखे, रोपाईँजात्रा, लठ्ठी नाच, विभिन्न नेवार समुदायका नृत्यहरु सहितका सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा गणेश भिमशेन मन्दिर संरक्षण समिति, नेवा गुठी समाज र नेवा देय् दबुको आयोजनामा तथा नेवाः मिस दबु, नेवाः ल्याय्म्हु दबु र खल पुचुःहरूको सहकार्यमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेवारी भेषभूषा नेवार समुदायका व्यक्तिहरु सहभागि भएका थिए । सिन्धुलीमाढीको २ नं बजार, गैरीबजार, १ नं. बजार, स्टल बजार र मधुटार हुँदै अन्त्यमा लोकतान्त्रिक चोकमा लाखे बिसर्जन गरी कार्यक्रम समापन गरिएको थियो । सिन्धुलीका नेवार समुदायले विगतका वर्षहरुदेखि नै लाखे, रोपाईंजात्रालाई निरन्तरता दिँदै आएका छन ।






















