सिन्धुली । कमलामाई नगरपालिकाभित्रका १९ जना अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । शनिबार सिन्धुलीमाढीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सहायक सामग्री वितरण गरिएको हो ।
अपांग सरोकार केन्द्रले कमलामाई नगरपालिका र सिन्धुली अपांग संघ सिन्धुलीको सहकार्यमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गरेको हो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतको उपस्थितिमा अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको हो ।
दुई वटा कृतिम खुट्टा, ४ वटा सेतो छडी, ६ वटा लठ्ठी, ४ वटा वैशाखी र ३ वटा ह्वील चियर वितरण गरिएको हो । कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले आगामी बजेटमा लक्षित समुदायलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुने बताईन ।
उनले योजना छनौट हुँदै बजेट निर्माणको क्रममा नगरपालिका रहेकाले अपांगता भएका व्यक्तिहरुका सवालमा नगरपालिकाले संवेदनशिल भएर बजेट निर्माण गर्ने बताईन ।























