सिन्धुली । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले झगडाले नभई विकास र समृद्धिले देश बन्ने बताएका छन । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई शनिबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपाललाई अस्थिरता, विभाजन र टकरावको राजनीति होइन स्थायीत्व, विकास र सहकार्यको बाटो आवश्यक रहेको बताए ।
ज्ञवालीले नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत औंल्याएका छन । ज्ञवालीले चीन र भारत जस्ता विश्वका प्रमुख अर्थतन्त्रसँग सहकार्य गरेमा मात्रै नेपालले आर्थिक विकासको गति लिने बताए ।
उनले वर्तमान सरकारलाई चरम निराशाबाट बाहिर निस्कने कोशिस गरिरहेको बताए । सरकारले विदेशी चाहना अनुसार निर्णय गर्ने परिपाटीले देशलाई आत्मनिर्भर नबनाउने बताए ।
ज्ञवालीले एमालेभित्र अवसरको लागि मात्र आउने प्रवृत्तिले थप चुनौती सिर्जना गरेको बताए । उनले पार्टीलाई मजबुद बनाउन गुट उपगुट त्याग्नुपर्ने र पार्टीको हितमा काम गर्न समेत सुझाव दिएका छन ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीभित्र कुनै विवाद नरहेको बताए । उनले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमण भइरहँदा एमालेका नेता कार्यकर्ताको मनोगत अवस्थाले समस्या सिर्जना भएको बताए ।
उनले विरोधीहरूको आक्रमणविरुद्ध सबै नेता कार्यकर्तालाई प्रतिवाद गर्न सुझाए । आजको पुँजीवादी अर्थतन्त्र र व्यवस्था कमजोर बनेको बताउँदै नेता भट्टराईले समाजवादी व्यवस्था बलियो भन्न थालेको उल्लेख गरे ।
एमालेको मूल नेतृत्व र तल्लो तहमा समस्या नरहेको बताए । उनले तल्लो तह र माथिल्लो तहमा समस्या नभएको तर बीचको नेतृत्वमा समस्या देखिएको बताए ।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका इन्चार्ज मनोजजंग थापाले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा एमाले सिन्धुलीका इन्चार्ज मनोज जंग थापाले पार्टीमाथि भएको विभिन्न आक्रमणका पार्टीमा २ हजारभन्दा बढी नयाँ सदस्यहरू थपिएको र संगठन जनआकर्षणको केन्द्र बनेको दाबी गरे ।
कार्यक्रममा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै समूहगत छलफलबाट महत्वपूर्ण सुझावहरू आएको पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।





















