सिन्धुली । दुर्घटनाका घाईतेको उपचार खर्च नव्यहोरी तथा सिन्धुली जिल्ला अदालतले कैद सजाय समेत तोकेका अभियुक्त शेषराज पहाडी मंगलबार पक्राउ परेका छन । उपचार खर्च समेत नदिई फरार रहेका तीनपाटन गाउँपालिका वडा नं. ८ का शेषराज पहाडीलाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको हो ।
गत बैशाख ३० गते सिन्धुली अस्पतालमा कोमामा रहेका दुर्घटनाका घाईतेका परिवारले जिल्ला प्रशासनमा विरामी लगि धर्ना दिएर दवाव सृजना गरेपछि प्रहरीले पहाडीलाई पक्राउ गरेको हो । विरामीका आफन्तले उपचार खर्च दिलाईदिन माग गर्दै दवाव स्वरुप विरामी सहित धर्ना दिएपछि प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले अभियुक्तलाई पक्राउ गर्न एसपी लालध्वज सुवेदीलाई निर्देशन दिएका थिए । सोहि दवावपछि एसपी सुवेदीले पीडित पक्षसँग १५ दिन समय दिन अनुरोध गरेका थिए ।
पहाडीलाई मंगलबार विहान बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरि सिन्धुली ल्याईएको र प्रहरीले बुधबार सिन्धुली जिल्ला अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
पहाडीलाई अंगभंग मुद्दामा सिन्धुली जिल्ला अदालतले ३ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्तिको फैसला गरेको छ । यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा क्षतिपूर्ति सम्बन्धि मुद्दा चलिरहेको छ ।
डिएसपी सुवेदीका अनुसार पहाडीले चलाएको प्रदेश ०१–०२७ च ४३७२ नम्बरको पिकअप भ्यानले २०७९ चैत २ गते तीनपाटन गाउँपालिका–२ भिमस्थान गैरी स्थित सिन्धुली चकमके सडक खण्डमा ज८प६४५८ नम्बरको मोटरसाइकलमा सवार तेजबहादुर सिंजालीलाई ठक्कर दिई गम्भीर घाइते बनाएका थिए । घाइतेको काठमान्डौमा उपचार भएको थियो । उपचारपछि पनि होस नफर्केका सिंजाली १४ महिनादेखि सिन्धुली अस्पतालमा कोमामा उपचाररत रहेका छन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको घाईतेकी श्रीमति प्रनिषा रमौलीले बताएकी छिन ।
कमलामाई नगरपालिका वडा नं. ७ रामपुरका सिंजालीलाई दुर्घटनापछि हेलिकप्टर मार्फत काठमान्डौको हेम्स अस्पताल लगिएको थियो । हेम्समा उपचार महंगो भएपछि परिवारले टिचिङ अस्पतालमा उपचार गरेका थिए । १४ महिलाअघि आर्थिक अवस्था नाजुक भएपछि विरामीलाई सिन्धुली अस्पतालमा ल्याईएको थियो । उनको उपचार महंगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएको प्रनिषाले बताईन ।

तेजबहादुरको उपचारमा हालसम्म ५० लाख बढी उपचारमा खर्च भईसकेको समेत उनले बताउँदै आएकी छिन । एक वर्ष अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घाईतेको उपचारका लागि २० लाख दिने सहमति भए पनि पहाडीले हालसम्म पाँच लाखसम्म मात्र उपचार खर्च दिएको र अन्य खर्च नदिएको पीडित पक्षको गुनासो रहेको छ ।
जिल्ला अदालत सिन्धुलीले २०८१ असार १९ गते शेषराज पहाडीलाई दोषी ठहर गर्दै सवारी अङ्गभङ्ग मुद्दामा कैद सजाय र जरिवाना तोकेको भए पनि पहाडी फरार रहेका थिए ।
विरामीका आफन्तले विरामीको उपचारका लागि रकम अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पीडक पक्षबाट क्षतीपूर्ति दिलाई दिन माग गर्दै विरामीलाई प्रशासनमा लगेर बैशाख ३० गते धर्नामा बसेका थिए ।
उपचारमा लाग्ने खर्च गर्न समेत आफुले गर्न सक्ने अवस्था नरहेको र पीडक पक्षले दिने भनि सहमती गरेको उपचार खर्च समेत पाउन नसकेको पीडितको भनाई छ । गाडी चालक समेत रहेका गाडी धनि शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा विरामीको उपचारका लागि २० लाख दिने सहमति गरेका थिए । उक्त सहमति बमोजिम दिनुपर्ने रकम मध्ये ५ लाख रुपैंया मात्र पीडितले प्राप्त गरेको पीडितको भनाई छ । बाँकी १५ लाख रुपैंया पाउन नसकेको गुनासो रहेको छ । पहाडी २ महिना २७ दिन मात्र हिरासत बसेका थिए । त्यसपछि धरौटीमा छुटेका उनी फरार थिए ।
यो पनि पढ्नुहोस
दुर्घटनाको पीडा : उपचार खर्च नपाएपछि अस्पतालको विरामी प्रशासनमा





















