सिन्धुली । बुधबार दिउँसो भिरबाट लडेर घाईते भएका भनिएका घ्याङ्लेख गाउँपालिका वडा नं. ४ आहालेका ४६ वर्षिय युग बहादुर स्याङतानको तिघ्रामा गोलीको छर्रा भेटिएको छ ।
उनी बुधबार साढे ११ बजे घर नजिकैको जंगलमा घाँस काट्न गएका बेलामा लडेर घाईते भएको भनि उपचारका लागि काठमान्डौ लगिएको थियो । गम्भिर घाईते भएका स्याङतानको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा विहिबार विहान मृत्यु भएको थियो ।
प्रहरीलाई सोहि ठाउँका बलबहादुर मोक्तानले घटनाको बारेमा जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । केएमसी अस्पतालले स्याङतानको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी वृत गौशाला काठमान्डौले दुई जनालाई काठमान्डौबाट पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका वडा नं. ४ अमलेका २५ वर्षिय बल बहादुर मोक्तान र सोहि ठाउँका ४१ वर्षिय लेख बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले जंगलमा शिकार खेल्न गएकोमा भरुवा बन्दुकको गोलीले लागि घाईते भएको खुलाएको काफ्लेले जानकारी दिए ।
घटनामा संलग्न अन्य व्यक्तिहरु समेत रहेको र उनीहरुको खोजी कार्य भईरहेको समेत प्रहरीले जनाएको छ । कतिजना संलग्न भन्ने विषयमा भने प्रहरीले केहि खुलाएको छैन ।





















