सिन्धुली । बुधबार साँझ सिन्धुलीबाट लागुऔषध सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ४ हिरापानी चेक पोइन्टबाट लागु औषध ट्यावलेट सहित भारतको विहार प्रदेश मोतिहारी जिल्ला थाना चिरैयाबस्ती सानीरियाका १७ वर्षका नितेश राम पक्राउ परेका हुन ।
कालो झोला बोकेर ढुंग्रेवासबाट चियाबारी तर्फ पैदल हिडिरहेका रामलाई प्रहरी चौकी ढुंग्रेवासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आईपि (ट्रामोल–५०) लेखिएको ५८० वटा ट्यावलेट र निट्राजिपम–१० एमजी लेखिएको २८५ वटा ट्यावलेट गरि ८ सय ६५ वटा ट्यावलेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।




















