सिन्धुली । राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा रेडियो विजयकिल्लाका स्टेशन मेनेजर बुद्ध नेपाली निर्वाचित भएका छन । बुधबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा सुनिता विश्वकर्मा, सचिवमा गंगा विशुंखे, सह–सचिवमा आस्था विश्वकर्मा र कोषाध्यक्षमा विशाल संतशकर निर्वाचित भएका छन भने सदस्यहरुमा देवीका विश्वकर्मा र ग्रिष्मा दियाली रहेका छन् ।
त्यस्तै अधिवेशनले संघका निवर्तमान अध्यक्ष बलबहादुर नेपाली (राजन), बुद्ध कुमार आछामी, बविता परियार र प्रतिमा विसीलाई केन्द्रीय पार्सद र बलबहादुर विश्वकर्मा, राज दियाली, सन्देश भित्रीकोटी, विनु वि.क, सिता रम्तेल र मनोज भित्रीकोटीलाई प्रदेश पार्षदमा चयन गरेको छ ।
अधिवेशन केन्द्रीय सदस्य राजन गाउँलेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बलबहादुर नेपाली (राजन) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
अधिवशेनमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ बागमति प्रदेशका सचिव राजन गाउँलेले सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती थपिएको बताए । उनले पत्रकारिता पेशामा इमान्दारिता र निरन्तरता महत्वपुर्ण हुने बताउँदै पत्रकारीता जिम्मेवार बन्नुपर्नेमा जोड दिए । मूलधारको पत्रकारितामा दलित समुदायको उपस्थिति बढाउन नेपाली मिडियामा सिक्ने, बिक्ने र टिक्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डेले क्षमता विकास र निरन्तर कर्मले मात्र पत्रकारीतामा स्थापित हुन सकिने बताईन । उनले क्षमतासँगै मेहनत गर्ने पत्रकारका लागि पत्रकारीतामा बाँच्ने आधार तयार हुने र नेतृत्वको पनि विकास हुनेमा उनले जोड दिईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, प्रेस युनियनका अध्यक्ष बरुण लामिछाने, प्रेस सेन्टरका अध्यक्ष नविन श्रेष्ठ, क्रियाशिल पत्रकार महिला सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकी, रेडियो सिन्धुली आवाजका स्टेशन मेनेजर वुद्ध अछामी लगाएतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।





















